Translate

Thursday, June 11, 2026

बालअधिकार र सामाजिक रूपान्तरणका लागि हरिपुरमा पालिकास्तरीय समन्वय बैठक सम्पन्न

 


मधेशदूत समाचारदाता---
 सर्लाही,जेठ २८

    बालअधिकार संरक्षण तथा सामाजिक रूपान्तरणलाई प्रभावकारी बनाउन सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकाका नागरिक समाज, युवा तथा महिला समूहहरूबीच साझा सहकार्य गर्ने प्रतिबद्धतासहित पालिकास्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
    ग्रामीण नारी उत्थान संघ (RWUA), हरिपुरको आयोजनामा  सम्पन्न ‘समन्वय, सहकार्य र एकता’ विषयक विशेष छलफल कार्यक्रममा स्थानीय सामाजिक विकास तथा बालबालिकामैत्री कार्यक्रमहरूलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
बैठकले नागरिक समाज, युवा तथा महिला समूहहरूबीच बलियो सञ्जाल निर्माण गर्दै बालअधिकार संरक्षण, सामाजिक सचेतना अभिवृद्धि तथा लक्षित समुदायसम्म कार्यक्रमहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न संयुक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ।
कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बालअधिकारसहितको सामाजिक रूपान्तरणका लागि सबै सरोकारवाला एकै ठाउँमा भेला हुनु सकारात्मक र उत्साहजनक भएको बताउनुभयो। उहाँले यस्तो सहकार्यले स्थानीय तहमा बालअधिकार सुनिश्चित गर्न तथा सामाजिक विकासका अभियानलाई परिणाममुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
छलफलका क्रममा सहभागीहरूले आफ्ना संस्थागत अनुभव, चुनौती तथा सम्भावनाबारे धारणा राख्दै आगामी दिनमा एकीकृत रूपमा काम गर्ने प्रतिबद्धता जनाएका थिए। युवा तथा महिला समूहहरूको सक्रिय सहभागिताले समुदायस्तरमा सामाजिक परिवर्तनका प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
    कार्यक्रममा बालबालिका बचाउ अभियान लगायत हरिपुर र ईश्वरपुर नगरपालिकाभित्र क्रियाशील विभिन्न नागरिक समाज संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बाल संरक्षण क्षेत्रीय पर्यवेक्षक राजु काफ्लेका अनुसार सहभागीहरूले “हाम्रो एकता : बालमैत्री र समतामूलक समाज निर्माणको प्रतिबद्धता” भन्ने नारालाई आत्मसात् गर्दै आगामी दिनमा संयुक्त रूपमा विभिन्न जनचेतनामूलक सामाजिक अभियान सञ्चालन गर्ने निर्णय समेत गरेका छन्।


No comments:

Post a Comment