Translate

Thursday, June 11, 2026

पोषणसम्बन्धी जनचेतना फैलाउन सर्लाहीका ८ पालिकामा सडक नाटक मञ्चन

 


मधेशदूत समाचारदाता
सर्लाही, जेठ २८

    सामाजिक विकास केन्द्र, कबिलासी नगरपालिका–९, सर्लाहीको आयोजनामा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत पोषणसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह तथा व्यवहार परिवर्तनका लागि सर्लाहीका विभिन्न स्थानीय तहमा सडक नाटक मञ्चन गरिएको छ।


   कार्यक्रमअन्तर्गत जिल्लाका ८ वटा स्थानीय तहका विभिन्न वडामा पोषणको महत्व, सन्तुलित आहार, बालबालिका तथा गर्भवती महिलाको पोषण अवस्था सुधार, कुपोषण न्यूनीकरण तथा स्वस्थ जीवनशैलीसम्बन्धी सन्देश समेटिएका सडक नाटक प्रदर्शन गरिएको सामाजिक विकास केन्द्रका अध्यक्ष निरञ्जन कुमार यादवले जानकारी दिनुभयो।
   स्थानीय कलाकारहरूको सक्रिय सहभागितामा ब्रह्मपुरी गाउँपालिका, रामनगर गाउँपालिका वडा नं. १ खैर्वा, विष्णु गाउँपालिका वडा नं. १ र वडा नं. ३ मधुवनगोठ, चक्रघट्टा गाउँपालिका वडा नं. ३ सुन्दरपुर तथा वडा नं. ९ खोरिया, कौडेना गाउँपालिका वडा नं. ६ छपकैया, पर्सा गाउँपालिका वडा नं. १ संग्रामपुर तथा वडा नं. ३ नारायणपुर, कबिलासी नगरपालिका वडा नं. ७ गैरबजार र वडा नं. ८ कबिलासी तथा बलरा नगरपालिका वडा नं. २ मा सडक नाटक मञ्चन गरिएको थियो।


   नाटकमार्फत पोषणसम्बन्धी व्यवहार परिवर्तन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। कार्यक्रम अवलोकन गरेका स्थानीयवासीले यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्य र पोषणबारे सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिक्रिया दिएका छन्।


   आयोजकका अनुसार आगामी दिनमा पनि समुदायस्तरमा स्वास्थ्य तथा पोषणसम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमलाई निरन्तरता दिइनेछ।

No comments:

Post a Comment