Translate

Wednesday, June 10, 2026

सर्लाहीमा २१ सदस्यीय जिल्ला बाल क्लब सञ्जाल गठन, बालमैत्री स्थानीय शासन प्रवर्द्धन गर्ने प्रतिबद्धता

 


मधेशदूत समाचारदाता
सर्लाही, जेठ २७

सर्लाही जिल्लाका २० वटै स्थानीय तह अन्तर्गतका बाल क्लब प्रतिनिधिहरूको सक्रिय सहभागितामा जिल्ला स्तरीय बाल भेला तथा जिल्ला बाल क्लब सञ्जाल गठन कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति सर्लाहीको आयोजना तथा सेभ द चिल्ड्रेन, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (आरआरपीएल) र ग्रामीण नारी उत्थान संघको संयुक्त सहयोगमा बुधबार मलंगवामा कार्यक्रम सम्पन्न भएको हो।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लामो समयको प्रयासपछि गठन भएको बाल सञ्जालले जिल्लामा बालअधिकार र बालसहभागिताको क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिएको छ।


जिससको सभाहलमा सम्पन्न भेलाले बालअधिकारको संस्थागत विकासका लागि दुई महत्वपूर्ण नीतिगत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। स्थानीय तहका बालबालिकाका सवालहरूलाई एकीकृत रूपमा उठाउने उद्देश्यका साथ जिल्लाका २० वटै स्थानीय तहको समान प्रतिनिधित्व सुनिश्चित हुने गरी २१ सदस्यीय जिल्ला स्तरीय बाल क्लब सञ्जाल गठन गरिएको हो। साथै, प्रदेश स्तरीय बाल क्लब सञ्जालमा सर्लाही जिल्लाको प्रतिनिधित्वका लागि चार जना प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरिएको छ।
भेलाले वेद प्रकाश झाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपाध्यक्षमा रोनिका चौधरी, सचिवमा आदित्य राज मिश्र तथा सहसचिवमा अम्बिका यादव चयन भएका छन्।
त्यस्तै सदस्यहरूमा रिना कुमारी महतो, गुन्जा यादव, प्राची सुवेदी, राजेश पण्डित, मोहम्मद तौसिफ पठान, मिन्टु कुमारी साह, अमन यादव, चाँदनी कुमारी सहनी, खुस्बु कुमारी राय, सृष्टी यादव, रानी कुमारी यादव र राधिका कुमारी महतो रहेका छन्।


नवनिर्वाचित अध्यक्ष झाले जिल्लामा बालअधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै आगामी दिनमा सबै बालबालिका तथा २० वटै स्थानीय तहसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा बोल्दै गोमादेवी न्यौपानेले बालअधिकार र बालसहभागिताको क्षेत्रमा सर्लाही अब सशक्त रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरिन्। उनले जिल्लाका प्रत्येक पालिकाले बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।
त्यसैगरी, सञ्जीव महतोले सञ्जाल गठनसँगै जिल्लामा बालहित र बालअधिकारको क्षेत्रमा उल्लेखनीय सुधार आउने आशा व्यक्त गरे।
प्रमुख अतिथि कौशल किशोर सिंहले सर्लाहीमा बाल समूह सञ्जाल गठन हुनुलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै यस प्रक्रियामा सहयोग पुर्‍याउने ग्रामीण नारी उत्थान संघ हरिपुर, राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवा, सेभ द चिल्ड्रेन तथा राष्ट्रिय बाल अधिकार परिषद् मधेश प्रदेशलाई धन्यवाद व्यक्त गरे।
उनले आगामी दिनमा बालअधिकार र बालमैत्री शासनका क्षेत्रमा जिल्ला समन्वय समितिबाट आवश्यक नीतिगत, प्रशासनिक तथा व्यावहारिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण सरोकारवालाहरूले हस्ताक्षर गर्दै बालअधिकार संरक्षण तथा प्रवर्द्धनका लागि ऐक्यबद्धता जनाएका थिए।

No comments:

Post a Comment