Translate

Friday, June 12, 2026

बालबालिकाकै नेतृत्वमा बालश्रम विरुद्ध अभियान : हरिपुरमा दीप प्रज्वलन, ईश्वरपुरमा हस्ताक्षर

 


मधेशदूत समाचारदाता---
सर्लाही, जेठ २९ 

    २५ औँ विश्व बालश्रम विरुद्धको दिवस (जुन १२) को अवसरमा सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा बालबालिकाकै नेतृत्वमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न भएका छन्। बाल समूह सञ्जालहरूको अगुवाइमा शुक्रवार आयोजित कार्यक्रममार्फत बालश्रम अन्त्यका लागि समुदायस्तरमा जनचेतना फैलाउने प्रयास गरिएको हो।


    हरिपुर नगरपालिकामा जिल्ला बाल समूह सञ्जालकी उपाध्यक्ष रोनीका चौधरीको अध्यक्षतामा हातेछाप तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा समुदायमा विद्यमान बालश्रमका समस्या, चुनौती र समाधानका उपायबारे बालबालिका तथा सरोकारवालाबीच छलफल भएको थियो। सहभागीहरूले बालश्रम अन्त्यप्रति ऐक्यबद्धता जनाउँदै रङ्गीन हातेछाप लगाएका थिए भने बालअधिकारको उज्यालो फैलाउने सन्देशसहित दीप प्रज्वलन गरेका थिए।


   यस्तै ईश्वरपुर नगरपालिका वडा न.८, ९, १० र ११ मा संयुक्त रूपमा अभिमुखीकरण तथा हस्ताक्षर अभियान सञ्चालन गरिएको थियो। जिल्ला बाल समूह सञ्जालका सचिव आदित्य राज मिश्राको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालश्रमका कारण, प्रभाव तथा रोकथामका उपायबारे जानकारी गराइएको थियो। सहभागीहरूले बालश्रम विरुद्ध विभिन्न नारा प्रस्तुत गर्नुका साथै प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै अभियानप्रति समर्थन जनाएका थिए।
    दुवै कार्यक्रममा सहभागी बालबालिकाहरूले “बालश्रममा पर्ने छैनौँ, पर्न दिने छैनौँ” भन्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो हक–अधिकारप्रति सजग रहने र अन्य बालबालिकालाई पनि बालश्रममा पर्न नदिने अठोट व्यक्त गरेका छन्।
ग्रामीण नारी उत्थान संघ, हरिपुरले सेभ द चिल्ड्रेनसँगको साझेदारी तथा हरिपुर र ईश्वरपुर नगरपालिकासँगको समन्वयमा सञ्चालित ‘समुन्नति कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रमहरू आयोजना गरिएको हो। संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले बालबालिकाको माग र योजनाअनुसार बाल नेतृत्वमा आधारित कार्यक्रमहरू सञ्चालन हुँदै आएको र यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिइएको जानकारी दिए।


  बाल संरक्षण फिल्ड सुपरभाइजर राजु काफ्लेले यस्ता कार्यक्रमले बालबालिकामा नेतृत्व विकास, सामूहिक भावना र समुदायका बालसम्बन्धी सवालमा एकताबद्ध भएर समाधान खोज्ने क्षमता अभिवृद्धि गर्ने बताए। साथै बालश्रममुक्त समाज निर्माणका लागि स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन यस्ता अभियान उपयोगी हुने विश्वास व्यक्त गरे।

No comments:

Post a Comment