हरिपुरमा बाल अधिकार र मनोसामाजिक स्वास्थ्यबारे अभिमुखीकरण, त्रिकोणात्मक सहकार्यको प्रतिबद्धता
मधेशदूत समाचारदाता---
सर्लाही,असार ६
सर्लाहीको हरिपुर नगरपालिकामा बाल समूह, युवा समूह तथा आमा समूहका प्रतिनिधिहरूका लागि ‘बाल अधिकार तथा मनोसामाजिक सुस्वास्थ्य सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।
ग्रामीण नारी उत्थान संघ (RWUA) को आयोजना, हरिपुर नगरपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा हरिपुर नगरपालिका–२ स्थित संस्थाको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। बाल अधिकारको संरक्षण तथा समुदायमा बढ्दो मनोसामाजिक स्वास्थ्य समस्याबारे सरोकारवालाहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा स्थानीय बाल समूह, युवा समूह तथा आमा समूहका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै ग्रामीण नारी उत्थान संघ (RWUA) का उपाध्यक्ष विष्णु प्रसाद चालिसेले संस्थाले सुरुदेखि नै हरिपुर र ईश्वरपुर नगरपालिका लगायत सर्लाहीका विभिन्न पालिकामा मनोसामाजिक समस्या पहिचान, समाधान, मनोपरामर्श सेवा तथा प्रशिक्षणका क्षेत्रमा कार्य गर्दै आएको जानकारी दिनुभयो।
उहाँले बाल समूह, युवा समूह र आमा समूहबीच त्रिकोणात्मक सम्बन्ध स्थापना गरी सामाजिक रूपान्तरणमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरूले बाल अधिकारको संरक्षण, प्रवर्द्धन तथा बाल सहभागिता सुनिश्चित गर्न ऐक्यबद्धता जनाउँदै आगामी दिनमा तीनवटै समूहले सामूहिक अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बाल संरक्षण फिल्ड सुपरभाइजर राजु काफ्लेले यस सामूहिक प्रतिबद्धताले पालिकामा बालमैत्री स्थानीय शासन कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सहजकर्ता तथा मनोपरामर्शदाता सुजाता शर्माले बालबालिकाका नैसर्गिक अधिकार, बाल संरक्षणका चुनौती, बालमैत्री स्थानीय शासन, मनोसामाजिक समस्याका लक्षण तथा रोकथामका उपायबारे विस्तृत जानकारी गराउनुभएको थियो।
No comments:
Post a Comment