Translate

Monday, June 22, 2026

होम सेन्टरको माग गर्दै सर्लाही क्याम्पसका विद्यार्थीहरुले बुझाए प्रजिअलाई ज्ञापनपत्र



मधेशदूत समाचारदाता----
सर्लाही,असार ८ 

    सर्लाही क्याम्पस, मलंगवामा अध्ययनरत स्नातक चौथो वर्षका विद्यार्थीहरूले परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय, सर्लाहीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।
 
    विद्यार्थीहरूले हाल तोकिँदै आएको परीक्षा केन्द्र बरहथवा तथा लालबन्दीमा रहेकाले दैनिक ३० देखि ६० किलोमिटर टाढासम्म यात्रा गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका छन्। आर्थिक रूपमा विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई बढ्दो यातायात खर्च, वर्षायाममा खराब सडक अवस्था, सडक दुर्घटनाको जोखिम तथा लामो यात्राका कारण शारीरिक र मानसिक तनाव भोग्नुपरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।
   दैनिक दुईदेखि तीन घण्टासम्म यात्रा गर्नुपर्ने अवस्थाले परीक्षा तयारी, एकाग्रता तथा समग्र शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव परेको भन्दै विद्यार्थीहरूले सर्लाही क्याम्पसमै होम सेन्टर कायम गर्न माग गरेका छन्।
   विद्यार्थीहरूले व्यावहारिक, आर्थिक, भौगोलिक तथा सुरक्षा सम्बन्धी समस्यालाई मध्यनजर गर्दै सम्बन्धित निकायबाट शीघ्र सकारात्मक निर्णय हुने अपेक्षा व्यक्त गरेका छन्।

No comments:

Post a Comment