चिकित्सकमाथि चरित्रहत्या र दबाबको प्रयास भएको भन्दै चिकित्सक संघको आपत्ति
मधेशदूत समाचारदाता----
सर्लाही, जेठ १९
नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले सर्लाहीको मलङ्गवा क्षेत्रमा कार्यरत चिकित्सकहरूमाथि भइरहेको भनिएको अनावश्यक दबाब, चरित्रहत्या तथा स्वास्थ्य सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा मलङ्गवा स्थित स्तुति सौम्या हेल्थ केयरमा उपचारपछि थप उपचारका लागि रेफर गरिएका एक बिरामीको निधनको घटनालाई लिएर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत तथ्यहीन, एकपक्षीय र भ्रामक समाचार सम्प्रेषण गरिएको आरोप लगाएको छ।
विज्ञप्तिमा वरिष्ठ चिकित्सक तथा समाजसेवी डा. गुणेश्वर झाविरुद्ध व्यक्तिगत पूर्वाग्रह राखी निराधार आरोप लगाउने, बदनाम गर्ने तथा मानसिक तनाव सिर्जना गर्ने उद्देश्यले समाचार प्रकाशन र प्रचारप्रसार गरिएको दाबी गरिएको छ।
नेपाल चिकित्सक संघले चिकित्सकहरूले आफ्नो पेशागत दायित्वअनुसार बिरामीको उपचार गरी आवश्यक परेमा उच्च स्वास्थ्य केन्द्रमा रेफर गर्नु सामान्य चिकित्सकीय प्रक्रिया भएको उल्लेख गर्दै त्यसलाई गलत ढंगले प्रस्तुत गरी चिकित्सकको प्रतिष्ठामाथि आघात पुर्याउने कार्य निन्दनीय भएको जनाएको छ।
संघका अनुसार उक्त घटनालाई लिएर प्रहरीमा मुद्दा दर्ता गराउने तथा पक्राउ पुर्जी निकाल्नेसम्मको अवस्था सिर्जना गरिनु दुःखद विषय हो। यस्ता गतिविधिका कारण डा. गुणेश्वर झासहित मलङ्गवा क्षेत्रमा कार्यरत चिकित्सकहरू असुरक्षित र त्रसित महसुस गर्न बाध्य भएको संघको भनाइ छ।
संघले यसबाट गम्भीर तथा जटिल प्रकृतिका बिरामीको उपचारमा समेत नकारात्मक असर पर्न सक्ने र समग्र स्वास्थ्य सेवा प्रणाली कमजोर बन्ने खतरा रहेको जनाएको छ।
नेपाल चिकित्सक संघ, मधेश प्रदेश समितिले नेपाल पत्रकार महासंघ, सञ्चारकर्मी, स्थानीय प्रशासन तथा सम्बन्धित सरोकारवाला निकायसँग चिकित्सकीय विषयमा तथ्य, प्रमाण तथा विशेषज्ञको रायका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ।
त्यस्तै, चिकित्सकको चरित्रहत्या गर्ने उद्देश्यले गरिने भ्रामक प्रचारप्रसार रोक्न, स्वास्थ्यकर्मीलाई सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्ने सुनिश्चितता प्रदान गर्न तथा स्वास्थ्य सेवा प्रवाहमा अवरोध पुर्याउने गतिविधिको निष्पक्ष छानबिन गर्न पनि संघले माग गरेको छ।
संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डा. निरज कुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग सम्बोधन नभए स्वास्थ्यकर्मीको पेशागत सुरक्षा, सम्मान तथा स्वास्थ्य सेवाको संरक्षणका लागि थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ।
No comments:
Post a Comment