सर्लाहीमा १० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
मधेशदूत समाचारदाता
सर्लाही, जेठ १९
सर्लाही प्रहरीले अवैध लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बागमती नगरपालिका–८ गान्धीचोकस्थित एक घरमा ब्राउन सुगर लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा मंगलबार अस्थायी प्रहरी पोस्ट सोल्टीबजार र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा स्थानीय ३० वर्षीय अरुण लामा र धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–७ निवासी ३० वर्षीय सनम लामालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अरुण लामाको घरमा खानतलासी गर्दा करिब १० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद गरेको जनाएको छ। साथै घटनास्थलबाट ३ थान एन्ड्रोइड मोबाइल, नेपाली रुपैयाँ २३ हजार ७७० र भारतीय रुपैयाँ ९०० समेत बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन्।
घटनाबारे इलाका प्रहरी कार्यालय बरहथवाले थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment