Translate

Wednesday, June 3, 2026

बरहथवामा लैङ्गिक हिंसा रोकथामका लागि सुरक्षा तथा न्याय कार्यक्रम सम्पन्न

 


मधेशदूत समाचारदाता
सर्लाही, जेठ २०

   लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बरहथवा नगरपालिकाको नेतृत्व र दिव्य विकास स्रोत केन्द्रको प्राविधिक सहयोगमा सुरक्षा तथा न्याय कार्यक्रम सम्पन्न भएको छ।
   बुधबार बरहथवास्थित ग्रीन होटलको सभाकक्षमा आयोजित कार्यक्रममा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी वार्षिक कार्ययोजनाको खाका तयार गर्ने विषयमा विस्तृत छलफल गरिएको थियो।
   कार्यक्रमका प्रमुख अतिथि बरहथवा नगरपालिकाका उपप्रमुख रामबाबु प्रसाद साह रहेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला, नगरपालिकाका विभिन्न शाखा प्रमुख, इलाका प्रहरी कार्यालय बरहथवाका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।
दिव्य विकास स्रोत केन्द्रका प्रोजेक्ट म्यानेजर गणेश ठाकुरीले सहजीकरण गरेको कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण, पीडितमैत्री सेवा प्रवाह, जनचेतना अभिवृद्धि तथा समुदायस्तरमा रोकथामका उपायबारे सहभागीहरूले आफ्ना सुझाव राखेका थिए।
  कार्यक्रममा प्राप्त सुझावहरू संकलन गरी बरहथवा नगरपालिकामा पेश गरिने तथा त्यसैका आधारमा आगामी आर्थिक वर्षको कार्ययोजना निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
   सहभागीहरूले लैङ्गिक हिंसाको अन्त्यका लागि स्थानीय सरकार, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

No comments:

Post a Comment