महिनावारी स्वच्छता सम्बन्धि लालबन्दीमा सचेतनामूलक कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता
लालबन्दी, जेठ २०
विश्व महिनावारी स्वच्छता दिवस (मे २८, २०२६) को अवसरमा सर्लाहीको लालबन्दी नगरपालिका–९ मा सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बाल संरक्षण संस्था, लालबन्दी–९ को आयोजनामा सम्पन्न कार्यक्रममा महिला समूह, बाल क्लब तथा युथ क्लबका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिनावारी सरसफाइ तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा सहभागीहरूबीच अन्तरक्रिया गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रममा महिनावारीका बेला व्यक्तिगत सरसफाइको महत्व, सरसफाइमा लापरबाही गर्दा स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर तथा मर्यादित महिनावारी व्यवस्थापनका उपायबारे छलफल गरिएको थियो। साथै रजोनिवृत्ति सम्बन्धी जानकारी आदानप्रदान गर्दै त्यस अवधिमा महिलाले भोग्ने शारीरिक तथा मानसिक परिवर्तनका विषयमा पनि अन्तरक्रिया गरिएको थियो।
सहभागीहरूले विगतमा महिनावारीका समयमा भोग्नुपरेका सामाजिक विभेद, अन्धविश्वास तथा हालको अवस्थामा आएको परिवर्तनबारे आफ्ना अनुभव साझा गरेका थिए। मर्यादित महिनावारी स्वच्छता कायम गर्न अझै पनि समाजमा रहेका चुनौती र त्यसको समाधानका उपायबारे समेत छलफल भएको संस्थाकी सम्झना घिमिरेले जनाएकी छिन् ।
कार्यक्रमले महिनावारीप्रति सकारात्मक सोच विकास गर्न, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सचेतना अभिवृद्धि गर्न र मर्यादित महिनावारी व्यवस्थापनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
No comments:
Post a Comment