Translate

Wednesday, June 17, 2026

कमसल निर्माणको विरोध गर्दा कबिलासी नगरपालिकामा प्राविधिक र स्थानीयबीच विवाद

 नगरपालिकाका धेरैजसो योजना  तथा बजेटसम्बन्धी विषयमा अख्तियारमा समेत उजुरी परेको स्रोतको दावी 



मधेशदूत समाचारदाता----
सर्लाही, असार ३

    कबिलासी नगरपालिकामा कार्यरत एक प्राविधिकमाथि अभद्र व्यवहार तथा हातपात भएको आरोपपछि नगरपालिकाको प्राविधिक शाखाले आफ्ना सम्पूर्ण प्राविधिक कार्य ठप्प पारेको जनाएको छ।
   प्राविधिक शाखाले प्रमुख प्रशासकीय अधिकृतलाई बुझाएको पत्रअनुसार वडा नं. ६ जमुनिया मठ नजिक सडक ढलान कार्यको अनुगमन तथा प्राविधिक जिम्मेवारी निर्वाह गरिरहेका इन्जिनियर अभिन्नदन यादवमाथि स्थानीय राम गोविन्द यादवले गालीगलौज, अभद्र व्यवहार तथा हातपात गरेको आरोप लगाइएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही नगरिएसम्म प्राविधिक कार्यमा सहभागी नहुने निर्णय गरिएको पत्रमा उल्लेख छ।
    यता राम गोविन्द यादवले भने आफूले निर्माणाधीन सडकको गुणस्तरमाथि प्रश्न उठाएको बताएका छन्। उनका अनुसार माटो माथि सडक ढलान भइरहेको देखेपछि काम रोक्न र मापदण्डअनुसार निर्माण गर्न आग्रह गर्दा आफूविरुद्ध उल्टै आरोप लगाइएको हो।
    घटनापछि स्थानीयवासीहरूले कबिलासी नगरपालिकाभित्र सञ्चालन भइरहेका विकास निर्माणका काममा व्यापक अनियमितता हुने गरेको आरोप लगाएका छन्। स्थानीयहरूको भनाइ अनुसार प्रमुख प्रशासकीय अधिकृतदेखि सम्बन्धित कर्मचारी, निर्वाचित जनप्रतिनिधि, उपभोक्ता समिति तथा ठेकेदारबीच मिलेमतो हुने गरेको र कमसल निर्माण कार्यलाई स्वीकृति दिई बजेट निकासा गरेर कमिसन बाँडफाँट गर्ने प्रवृत्ति मौलाएको छ। गुणस्तरहीन निर्माणबारे आवाज उठाउँदा सम्बन्धित पक्षबाट दबाब र प्रतिरोध सामना गर्नुपर्ने अवस्था रहेको उनीहरूको आरोप छ।
   स्थानीयहरूले नगरपालिकाभित्र हाल भइरहेका विभिन्न भौतिक पूर्वाधार निर्माण कार्यहरूको प्राविधिक तथा आर्थिक छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूले सार्वजनिक बजेटको दुरुपयोग भएको आशंका व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायले अनुसन्धान गर्नुपर्ने बताएका छन्।
   यसैबीच नगरपालिकाका केही योजना तथा बजेटसम्बन्धी विषयमा अख्तियारमा समेत उजुरी परेको स्रोतले जनाएको छ।
    प्राविधिक शाखाले दोषीमाथि कारवाहीको माग गर्दै कार्य ठप्प पारेपछि नगरपालिकाका विकास निर्माण तथा प्राविधिक सेवा प्रभावित हुने देखिएको छ।


No comments:

Post a Comment