धान रोपाइँअघि पर्याप्त सिंचाइ र मनुष्मारा नदी संरक्षणको माग गर्दै सर्लाहीका किसानद्वारा १५ बुँदे ज्ञापनपत्र
मनोज यादव----
सर्लाही, असार ४
सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाका किसान तथा जनप्रतिनिधिहरूले धान रोपाइँको समय नजिकिँदै गर्दा सिंचाइ व्यवस्थापन, मनुष्मारा नदी संरक्षण तथा किसानका समस्याको दीर्घकालीन समाधानको माग गर्दै मनुष्मारा सिंचाइ आयोजना कार्यालय, कर्मैयामा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा गत वर्ष मधेश प्रदेशभर पर्याप्त वर्षा नहुँदा उत्पन्न खडेरी तथा पानीको चरम अभावका कारण किसानहरू गम्भीर संकटमा परेको उल्लेख गरिएको छ। मधेश प्रदेश सरकारले सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको र नेपाल सरकारले समेत विपद् संकटग्रस्त अवस्थाका रूपमा यस समस्यालाई लिएको सन्दर्भमा सर्लाहीका किसानहरू विशेष रूपमा प्रभावित भएको उल्लेख गर्दै तत्काल प्रभावकारी कदम चाल्न माग गरिएको छ।
किसानहरूले मनुष्मारा नदीको प्राकृतिक बहावमा अवरोध, बढ्दो अतिक्रमण, अव्यवस्थित निर्माण कार्य, नदी प्रदूषण तथा सिंचाइ संरचनाको जीर्ण अवस्थाले वर्षौंदेखि समस्या भोग्दै आएको बताएका छन्। विगतमा पनि यस विषयमा ज्ञापनपत्र बुझाइए पनि मागहरूको प्रभावकारी सम्बोधन नभएकाले किसानहरू थप चिन्तित बनेको जनाइएको छ।
ज्ञापनपत्रमार्फत धान रोपाइँको समयमा सबै खेतीयोग्य जमिनमा पर्याप्त सिंचाइ सुविधा उपलब्ध गराउन, बसबरिया गाउँपालिका वडा नं. १ देखि ६ सम्म बागमती सिंचाइ प्रणालीबाट सहज रूपमा पानी उपयोग गर्न सक्ने वातावरण बनाउन तथा मनुष्मारा नदीको मुहान, बहाव क्षेत्र र प्राकृतिक संरचनाको संरक्षण गर्दै अतिक्रमण हटाउन माग गरिएको छ।
त्यस्तै, पुरैनिया चिनीमिल–टाँडी सेक्टरअन्तर्गतका नहर, बाँध तथा सिंचाइ संरचनाको मर्मत तथा स्तरोन्नति गर्न, राजपुर कुलो सिंचाइ आयोजनाको विस्तृत अध्ययन तथा निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन पनि आग्रह गरिएको छ।
किसानहरूले नदीमा ढल, फोहोर तथा प्रदूषित पानी मिसाउने कार्य तत्काल रोक्न, नदीको प्राकृतिक बहावमा असर पर्ने गरी निर्माण गरिएका बोल्डर जाली, तटबन्ध, सडक तथा अन्य भौतिक संरचनाको निष्पक्ष प्राविधिक अध्ययन गरी आवश्यक सुधारात्मक कदम चाल्न माग गरेका छन्।
यसैगरी, सिंचाइ प्रणालीमा लागू पालो प्रणालीलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन, किसानलाई उपलब्ध सेवा, सुविधा, योजना तथा कार्यक्रमबारे नियमित सार्वजनिक जानकारी गराउन, उत्पादन वृद्धि र आधुनिक कृषि प्रविधिको प्रयोगका लागि तालिम तथा प्राविधिक सेवा विस्तार गर्न तथा मनुष्मारा नदी संरक्षण, प्रदूषण नियन्त्रण, अतिक्रमण व्यवस्थापन र सिंचाइ व्यवस्थापनका लागि बहुपक्षीय समन्वय समिति गठन गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा बसबरिया गाउँपालिका वडा नं. ३ स्थित भवानीपुर स्वास्थ्य चौकी अगाडिको पुल निर्माण गर्न तथा गत वर्ष र यस वर्ष प्रस्तुत गरिएका मागहरूको कार्यान्वयन प्रगति सार्वजनिक गरी समस्याको स्थायी समाधानका लागि स्पष्ट कार्ययोजना ल्याउन पनि आग्रह गरिएको छ।
ज्ञापनपत्र बुझाउनेहरूमा सामाजिक तथा राजनीतिककर्मी गजेन्द्र साह, बसबरिया गाउँपालिका वडा नं. २ का वडाध्यक्ष बिन्देश्वर यादव, किसान नेता दिनेश प्रसाद यादव तथा किसान नेता नवल किशोर यादव रहेका छन्।
किसानहरूले आफ्ना मागहरू कृषि उत्पादन, खाद्य सुरक्षा तथा किसानको जीविकोपार्जनसँग प्रत्यक्ष रूपमा जोडिएको भन्दै यथाशीघ्र आवश्यक पहल तथा कार्यान्वयन गर्न मनुष्मारा सिंचाइ आयोजना कार्यालयसँग आग्रह गरेका छन्।
No comments:
Post a Comment