Translate

Wednesday, June 17, 2026

सर्लाहीमा टोचनमा तानिएको ईभी हाईसले ठक्कर दिँदा एक महिलाको मृत्यु,एक घाइते

 


मधेशदूत समाचारदाता----
सर्लाही, असार ३ 

   सर्लाहीको बागमती नगरपालिका–९ स्थित निर्माण चोकमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन्।
   प्रहरीका अनुसार गत जेठ ३१ गते बिहान करिब ६:१० बजे बरहथवा–निर्माण चोकतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ ह १८७९ नम्बरको अटोले बिग्रिएको बा.प्र.०३००१ ज ०७७६ नम्बरको ईभी हाईसलाई टोचन गरी तानेर लैजाँदै गरेको अवस्थामा दुर्घटना भएको हो।
  टोचनमा तानिएको ईभी हाईसले सडकमा पैदल हिँडिरहेका बागमती नगरपालिका–९ निवासी ५५ वर्षीया जयकुमारी देवी यादव र बागमती नगरपालिका–१० निवासी ४० वर्षीया पुनम देवी यादवलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै महिलाको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। घाइतेहरूलाई उपचारका लागि तत्काल कलैया पठाइएको थियो। उपचारका क्रममा जयकुमारी देवी यादवलाई प्रादेशिक अस्पताल कलैयामा चिकित्सकले मृत घोषणा गरेका हुन्।
   अर्की घाइते पुनम देवी यादवको कलैयास्थित राजलक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बताइएको छ।
   दुर्घटनापछि इलाका प्रहरी पोस्ट सोल्टीबाट प्रहरी टोली खटिई दुवै सवारी साधन नियन्त्रणमा लिएको छ। साथै ईभी हाईस चालक सर्लाहीको हरिवन नगरपालिका–७ निवासी ४० वर्षीय देवेन्द्र ठाकुर तथा अटो चालक बरहथवा नगरपालिका–१३ निवासी ३३ वर्षीय विकासकुमार झालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

No comments:

Post a Comment