कतार च्यारिटी नेपालको सहयोगमा मलंगवाका सात विद्यालयका विद्यार्थी लाभान्वित
मधेशदूत समाचारदाता
सर्लाही, असार १
चेतना मलंगवा, सर्लाहीको आयोजना तथा कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा मलंगवा नगरपालिकाभित्रका सात सामुदायिक विद्यालयका विद्यार्थी तथा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।
सोमबार आयोजित कार्यक्रममा ४९० जना विद्यार्थी तथा बालबालिकालाई विद्यालयमा आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको हो। वितरण गरिएका सामग्रीमा स्कुल ब्याग, सिसाकलम, टिफिन बक्स, पानीको बोतल तथा काँपी रहेका छन्। प्रत्येक विद्यार्थीलाई पाँच थान काँपीसहित एक/एक थान स्कुल ब्याग, टिफिन बक्स, पानीको बोतल र सिसाकलमको एक प्याकेट उपलब्ध गराइएको आयोजकले जनाएको छ।
सम्बन्धित वडाका वडाध्यक्षहरूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले विद्यार्थीहरूको शैक्षिक विकासमा यस्ता सहयोगमूलक कार्यक्रमले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा चेतनाका अध्यक्ष शिवशंकर जयसवाल, संस्थाका सल्लाहकार तथा मलंगवा–८ का वडाध्यक्ष मुकेश जयसवाल लगायत शिक्षक, विद्यार्थी तथा स्थानीय अभिभावकहरूको उपस्थिति रहेको थियो।
आयोजक संस्थाले विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराई उनीहरूको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
No comments:
Post a Comment