Translate

Sunday, June 14, 2026

यौन स्वास्थ्य अधिकार र बाल संरक्षणबारे मिडिया अभिमुखीकरण सम्पन्न



मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ३१

    यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार (SRHR) र समुदायमा आधारित बाल संरक्षण संयन्त्र (CBCPM) सम्बन्धी विषयमा सञ्चारकर्मीहरूलाई अभिमुखीकरण गर्ने उद्देश्यले मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
    राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) को आयोजनामा तथा Plan International को सहयोगमा सञ्चालित ‘आभा परियोजना अन्तर्गत किशोरीहरूको अधिकार र उत्थानशीलता’ कार्यक्रमअन्तर्गत आइतबार नयाँ रोडस्थित होटल सीता प्यालेसमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
   कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध दुई दर्जनभन्दा बढी सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकारको महत्व, बाल अधिकार, बाल संरक्षणका चुनौती तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्र (CBCPM) को भूमिका र प्रभावकारिताबारे विस्तृत छलफल गरिएको थियो।
     छलफलका क्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही तथा तथ्यपरक सूचना समुदायस्तरसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको औंल्याइएको थियो। साथै, बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषण तथा उपेक्षाका घटनालाई न्यूनीकरण गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहेको तथा समुदायमा आधारित बाल संरक्षण संयन्त्रलाई थप प्रभावकारी बनाउनुपर्ने विषयमा समेत जोड दिइएको थियो।


    पत्रकारहरूको SRHR सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, बाल संरक्षण तथा CBCPM को महत्वबारे समझ बढाउने, बाल संरक्षणका मुद्दाहरूको पहिचान, विश्लेषण तथा जिम्मेवार ढंगले समाचार सम्प्रेषण गर्ने क्षमता विकास गर्ने तथा लैंगिक संवेदनशील, बालमैत्री र अधिकारमा आधारित पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
   कार्यक्रमकी सहजकर्ता मोनिका झाले SRHR तथा बाल संरक्षणसम्बन्धी विभिन्न विषयमा सहजीकरण गरेकी थिइन्।
   आयोजकका अनुसार आभा परियोजना सर्लाहीको बसबरिया, चक्रघट्टा, धनकौल र कौडेना गाउँपालिकामा सञ्चालन भइरहेको छ। परियोजनाले किशोर–किशोरी तथा युवतीहरूको सशक्तीकरण गर्दै संकटका परिस्थितिमा समेत आफ्ना अधिकारको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य लिएको छ।


No comments:

Post a Comment