Translate

Friday, June 5, 2026

सर्लाहीमा वृक्षरोपण तथा जनचेतनामूलक कार्यक्रमसहित विश्व वातावरण दिवस मनाइयो

 




रितिक अधिकारी---
सर्लाही, जेठ २२ 

    “हाम्रो भूमि, हाम्रो भविष्यः पुस्ताको पुनर्स्थापना” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०२६ सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ।
यस अवसरमा डिभिजन वन कार्यालय सर्लाहीको आयोजनामा ईश्वरपुर नगरपालिका–१५ स्थित श्री जनता माध्यमिक विद्यालय, बल्वा सोकनाहामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झाको नेतृत्वमा सम्पन्न भएको हो।
कार्यक्रममा ईश्वरपुर नगरपालिका–१५ का वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
   सो अवसरमा वन अधिकृत सागर बस्यालले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा वृक्षरोपणको महत्त्वबारे जानकारी गराउँदै सहभागीहरूसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो।
त्यसैगरी, ईश्वरपुर नगरपालिकाका वडा नं. १, ३, ४, ६, १४ र १६ अन्तर्गतका ६ वटा विद्यालयमा “एक विद्यार्थी, एक बिरुवा” अवधारणाअनुसार बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ।


   विश्व वातावरण दिवसका अवसरमा आयोजित कार्यक्रमले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको हिमवन्ती नेपालकी मधेश प्रदेश अध्यक्ष रमा पौडेलले बताउनुभयो।
   पर्यावरण संरक्षणप्रति विश्वव्यापी राजनीतिक तथा सामाजिक जागरण ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ मा विश्व वातावरण दिवस मनाउँदै आइएको छ।

No comments:

Post a Comment