विश्व वातावरण दिवस २०२६: हरिपुर र ईश्वरपुरमा बाल नेतृत्वमा वृक्षारोपण तथा सरसफाइ अभियान सम्पन्न
उषा किरण पोखरेल----
सर्लाही, जेठ २२
“हाम्रो भूमि, हाम्रो भविष्यः पुस्ताको पुनर्स्थापना” भन्ने मूल नाराका साथ विश्व वातावरण दिवस २०२६ को अवसरमा सर्लाहीका हरिपुर र ईश्वरपुर नगरपालिकाका विभिन्न वडाहरूमा विविध वातावरणीय कार्यक्रम सम्पन्न भएका छन्।
बालबालिका, बाल समूह तथा बाल सञ्जाल, वडा प्रतिनिधि, वडा बाल अधिकार समिति, नगर बाल अधिकार समिति, विद्यालय व्यवस्थापन समिति, शिक्षक, स्वास्थ्यकर्मी, अभिभावक तथा स्थानीय समुदायको सक्रिय सहभागितामा संयुक्त रूपमा कार्यक्रमहरू आयोजना गरिएको हो।
वातावरण संरक्षण तथा दिगो जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले “एक विद्यार्थी, एक बिरुवा” र “माटोसँग मुटु जोडौँ” अभियानअन्तर्गत विभिन्न विद्यालय, वडा कार्यालय तथा सार्वजनिक स्थलहरूमा वृक्षारोपण, सरसफाइ तथा प्लास्टिकजन्य फोहोर संकलन कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका क्रममा वातावरणीय सचेतना अभिवृद्धिसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गरिनुका साथै प्रकृति संरक्षण, जलवायु सुरक्षा तथा स्वच्छ, स्वस्थ र सुरक्षित भविष्य निर्माणमा सामूहिक सहभागिताको महत्वबारे जानकारी गराइएको थियो।
संस्थाका उपाध्यक्ष तथा प्रवक्ता विष्णु प्रसाद चालिसेका अनुसार वातावरण संरक्षण तथा संवर्द्धनका क्षेत्रमा बालबालिका र युवाको नेतृत्वलाई सशक्त बनाउने उद्देश्यले संस्थाले स्थापना कालदेखि नै स्थानीय सरकार तथा विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै आएको छ।
उहाँले यस वर्ष पनि वातावरण तथा जलवायु संरक्षणका अभियानलाई निरन्तरता दिँदै बाल नेतृत्वमा आधारित कार्यक्रमहरू सञ्चालन गरिएको र विद्यालय, स्वास्थ्य संस्था तथा वडा स्तरको सक्रिय सहभागितामा हरिपुर र ईश्वरपुर दुवै नगरपालिकामा विश्व वातावरण दिवस भव्य रूपमा सम्पन्न भएको जानकारी दिनुभयो।
No comments:
Post a Comment