५७ केजी गाँजासहित एक युवक पक्राउ, एक जना फरार
मधेशदूत समाचारदाता----
सर्लाही, जेठ १८
सर्लाही प्रहरीले ५७ केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेद प्रसाद गौतमका अनुसार शनिबार इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका–८ रामपुरस्थित जब्दी पुल नजिक चेकजाँचका क्रममा लागुऔषध गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार लालबन्दीबाट बयलबासतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०६२ प ७०७३ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल शंकास्पद देखिएपछि रोक्न खोजिएको थियो। तर मोटरसाइकलमा सवार दुई जना व्यक्ति भाग्न खोजेका थिए। सो क्रममा मोटरसाइकल चालक लालबन्दी नगरपालिका–११ हिरापुर टोल निवासी २७ वर्षीय थमबङ लामालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो भने पछाडि सवार व्यक्ति फरार भएका छन्।
नियन्त्रणमा लिइएको मोटरसाइकलमा राखिएका दुई वटा सेतो प्लास्टिकका बोराहरू जाँच गर्दा रातो प्लास्टिकमा प्याक गरी डोरीले बाँधिएको अवस्थामा १० वटा गाँजाका पोका फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको कुल तौल प्लास्टिकसहित ५७ किलोग्राम रहेको छ।
प्रहरीले बरामद गाँजा, मोटरसाइकल तथा पक्राउ परेका लामालाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। सर्लाही जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय केशरगञ्जबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फरार व्यक्तिको खोजी कार्यसमेत तीव्र रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ।
No comments:
Post a Comment