Translate

Sunday, May 31, 2026

संग्रामपुरको मलमास मेलामा भक्तजनको स्वास्थ्य सुरक्षाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  


मधेशदूत समाचारदाता---
सर्लाही,जेठ १८

    तीन वर्षको अन्तरालमा पर्ने मलमास (मलेमास) को अवसरमा लाग्ने धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सति बिहूला मेला यस वर्ष पनि पर्सा गाउँपालिकाको संग्रामपुरमा भव्य रूपमा सुरु भएको छ। स्थानीय लोकसांस्कृतिक धरोहरका रूपमा परिचित यो मेला मलमास महिनाभर प्रत्येक आइतबार र मंगलबार सञ्चालन हुँदै आएको छ।
   लोक आस्था र सांस्कृतिक परम्पराको केन्द्रका रूपमा स्थापित यस मेलामा नेपाल र भारत दुबै देशका ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको सहभागिता रहने गर्दछ। यस वर्ष अत्यधिक गर्मी र भीडभाडलाई मध्यनजर गर्दै भक्तजनहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी पर्सा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
    स्वास्थ्य शिविरमार्फत मेला स्थलमै प्राथमिक स्वास्थ्य सेवा, सामान्य रोगहरूको जाँच, औषधि वितरण तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ। यस पहलले भक्तजनहरूलाई सहज सेवा प्राप्त हुनुका साथै आपतकालीन स्वास्थ्य जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताइएको छ।
   कार्यक्रम सफल बनाउन सहयोग गर्ने गाउँपालिका अध्यक्ष धिरेन्द्र राय `विस्पत´, उपाध्यक्ष, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, मेला समिति सदस्यहरू तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आयोजक स्वास्थ्य शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ।
  धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीकका रूपमा रहेको सति बिहूला मेला यस प्रकारका सेवामूलक कार्यक्रमबाट अझ व्यवस्थित र जनमैत्री बन्दै गएको स्थानीयवासीहरूले बताएका छन्।

No comments:

Post a Comment