Translate

Sunday, May 31, 2026

प्रादेशिक अस्पताल मलंगवाको फार्मेसी बिल विवादमा, पारदर्शितामाथि स्थानीयको प्रश्न

 


मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १८

    प्रादेशिक अस्पताल मलंगवा भित्र सञ्चालित फार्मेसीले बिरामीलाई दिएको औषधिको बिलमा मिति, बिक्रेताको हस्ताक्षर तथा PAN नम्बर उल्लेख नभएको विषय सार्वजनिक भएपछि स्थानीयवासीले अस्पताल प्रशासनप्रति गम्भीर शंका र आक्रोश व्यक्त गरेका छन्।
   सामाजिक सञ्जालमा भाइरल भइरहेको एक औषधि बिलमा आवश्यक विवरणहरू नभएको देखिएपछि अस्पतालको आर्थिक पारदर्शिता र राजस्व सम्बन्धी प्रक्रियामाथि प्रश्न उठ्न थालेको छ। स्थानीयहरूको भनाइ अनुसार कुनै पनि औपचारिक बिलमा मिति, जिम्मेवार कर्मचारीको हस्ताक्षर तथा करसम्बन्धी विवरण स्पष्ट हुनुपर्ने भए पनि अस्पतालको फार्मेसीबाट जारी भएको बिलमा ती आधारभूत विवरण नै अनुपस्थित देखिएको छ।
   सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उक्त विषयमा व्यापक टिप्पणी गर्दै सम्बन्धित निकायले छानबिन गर्नुपर्ने माग गरेका छन्। कतिपयले यस्तो बिलले राजस्व छली, अनियमितता वा प्रशासनिक कमजोरीबारे शंका उत्पन्न गरेको बताएका छन्।
    स्वास्थ्य संस्थाहरूमा सञ्चालन हुने फार्मेसी सेवा निश्चित मापदण्ड र निर्देशिकाअनुसार सञ्चालन हुनुपर्ने व्यवस्था रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा औषधि व्यवस्था विभागले अस्पताल फार्मेसी सेवासम्बन्धी निर्देशिका लागू गरेको छ। 
   स्थानीयवासीहरूले बिलसम्बन्धी विवादको सत्यतथ्य सार्वजनिक गर्दै आवश्यक छानबिन गरी दोषी भेटिए कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

No comments:

Post a Comment