Translate

Friday, May 8, 2026

सर्लाहीमा दोस्रो चरणको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” शुभारम्भ सिमानाकामा “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिने

 


मनोज यादव
सर्लाही, वैशाख २५

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम धनुषाद्वारा सञ्चालन गरिएको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” अन्तर्गत दोस्रो चरणको अभियान सर्लाहीमा औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
शुक्रबार आयोजित उद्घाटन कार्यक्रममा सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए। 

   मलंगवा नगरपालिका–८ स्थित प्रहरी चौकी गोरखकाली मा सम्पन्न कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राई, विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, मलंगवा–८ का वडाध्यक्ष मुकेश जयसवाल, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
   कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव उपरीक्षक राईले अभियानको उद्देश्य, प्रभावकारिता तथा आगामी योजनाबारे जानकारी दिएका थिए। उनका अनुसार अभियान अन्तर्गत सीमावर्ती क्षेत्रमा “ड्रग्स टेस्टिङ चेकपोइन्ट” स्थापना गरिनेछ भने ड्रग्स टेस्ट किट प्रयोग गरी लागुऔषध सेवन गरे–नगरेको परीक्षण गरिनेछ। साथै सीमावर्ती क्षेत्रमा नियमित आवतजावत गर्ने युवा–युवतीहरूको तथ्यांक संकलन गरी निगरानी गर्ने योजना समेत रहेको उनले बताए।
   उनले लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि अभियानलाई जिल्लाभर निरन्तर रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि घिमिरेले अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै युवापुस्तालाई लागुऔषधको कुलतबाट बचाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे।
   त्यसैगरी, सोही कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालय अन्तर्गतका सशस्त्र प्रहरी टोलीले लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले सडक नाटक समेत प्रस्तुत गरेका थिए। उक्त नाटकले कार्यक्रममा सहभागीहरूलाई आकर्षित गर्नुका साथै लागुऔषध दुव्र्यसनको असरबारे सचेत गराएको थियो।

No comments:

Post a Comment