हरिवनमा ग्यास सिलिन्डर लिक हुँदा घरमा आगलागी, लाखौँको क्षति
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख २५
सर्लाहीको हरिवन नगरपालिका–१ बिलन्दी टोलमा शुक्रबार बिहान ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ।
इलाका प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहान करिब ९ बजे दिवश बम्जनको काठले बनेको दुई तल्ले घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो। घटनाको जानकारी बिहान ९ः१५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवनबाट समेत ७ जनाको टोली तथा श्री काली ध्वज गण पाँचकुमारी ब्यारेक लालबन्दीबाट दमकलसहित ११ जनाको संयुक्त टोली परिचालन गरिएको थियो।
स्थानीयवासी र दमकलको सहयोगमा बिहान ९ः४५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभए पनि घरभित्र रहेका लत्ताकपडा, अन्नपात, भाँडाकुँडा, गरगहना तथा फर्निचर पूर्ण रूपमा जलेर नष्ट भएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रमुख डिएसपी सरोज राईले जनाएको छ।
No comments:
Post a Comment