Translate

Friday, May 8, 2026

सकारात्मक अभिभावकत्वका लागि सर्लाहीमा पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २५

   सर्लाहीको लालबन्दीमा बालअधिकार संरक्षण, प्रवर्द्धन तथा पारिवारिक वातावरणलाई हिंसारहित बनाउने उद्देश्यले स्थानीय सहजकर्ताहरूका लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण (ToT) तालिम सम्पन्न भएको छ।
   ग्रामीण नारी उत्थान सङ्घ हरिपुर र सेभ द चिल्ड्रेन द्वारा सञ्चालित ‘समुन्नती कार्यक्रम’ अन्तर्गत ‘सुरक्षित परिवार पाठशाला (सत्र)’ सञ्चालनका लागि उक्त तालिम आयोजना गरिएको हो। तालिममा हरिपुर र ईश्वरपुर नगरपालिकाका स्थानीय सहजकर्ताहरूको सहभागिता रहेको थियो।
   तालिमबाट प्रशिक्षित सहजकर्ताहरूले आगामी दिनमा ईश्वरपुर नगरपालिकाका चार वटा वडा तथा हरिपुर नगरपालिकाका तीन वटा वडामा सुरक्षित परिवार पाठशालासम्बन्धी विभिन्न सत्रहरू सञ्चालन गर्ने जनाइएको छ।
पाँच दिनसम्म सञ्चालन भएको सघन तालिममा मकर बहादुर सार्की मुख्य प्रशिक्षक तथा खडक नारायण चौधरी सहायक प्रशिक्षकको भूमिकामा रहनुभएको थियो।
   तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णु प्रसाद चालिसे ले सकारात्मक अभिभावकत्वको सन्देश समुदायसम्म विस्तार हुने विश्वास व्यक्त गर्दै यस कार्यक्रमले बालअधिकार संरक्षण र प्रवर्द्धनमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने बताउनुभयो।
   त्यसैगरी संस्थाकी अध्यक्ष गोमा देवी न्यौपानेले अभिभावक तथा हेरचाहकर्ताहरूमा बालविकास र लैङ्गिक समानतासम्बन्धी क्षमता अभिवृद्धि गर्दै घरपरिवारलाई हिंसारहित, विभेदरहित र सुरक्षित बनाउने उद्देश्यले तालिम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।


   बालबालिकालाई आफ्ना भावना निर्धक्क रूपमा व्यक्त गर्न सक्ने वातावरण निर्माण गर्दै स्थानीय तहमा बाल हिंसा न्यूनीकरण र पारिवारिक तहबाटै बालअधिकार सुनिश्चित गर्न यो तालिम कोशेढुङ्गा साबित हुने राजु काफ्लेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment