Translate

Saturday, May 16, 2026

धार्मिक तथा ऐतिहासिक सती बिहुला क्षेत्रको विकासमा स्थानीय सरकार सक्रिय "सती बिहुला गहभरमा शिलान्यास सम्पन्न"



मनोज यादव
सर्लाही, जेठ ३

    सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २, संग्रामपुरस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सती बिहुला गहभरमा शनिबार भव्य रूपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, कर्मचारी तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।
    कार्यक्रममा पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय`विस्पत´, उपाध्यक्ष नुतन देवी, वडा नं. १ का वडाअध्यक्ष सतेन्द्र राय, वडा नं. २ का राकेश राम, वडा नं. ३ का रघुनाथ साह, वडा नं. ६ का गणेश साह, पूर्व गाविस अध्यक्षलगायत स्थानीय सर्वसाधारण तथा युवाहरूको सहभागिता रहेको थियो।
   उपस्थित वक्ताहरूले सती बिहुला क्षेत्र धार्मिक, सांस्कृतिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन तथा धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा गा.पा अध्यक्ष रायले गहभर निर्माण तथा विकासमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।
   सती बिहुला स्थान सर्लाहीको पुरातात्त्विक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ। नेपाल र भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू यहाँ पूजा, दर्शन तथा मनोकामना पूरा हुने विश्वासका साथ आउने गर्दछन्। विशेषगरी साउन, भदौ अष्टमी, अमावस्यालगायतका अवसरमा यहाँ ठूलो मेला तथा पूजा आयोजना हुने गर्दछ। प्रत्येक तीन वर्षमा आयोजना हुने विशेष मासमा एक महिनासम्म भव्य मेला लाग्ने स्थानीयवासी बताउँछन्।
महोत्तरी -सर्लाही हुलाकी राजमार्गको छेउमा रहेको यो स्थल मधेश प्रदेशको राजधानी जनकपुरधामदेखि करिब ५० किलोमिटर पश्चिम तथा सर्लाही सदरमुकाम मलंगवाबाट करिब १० किलोमिटर पूर्वमा अवस्थित छ। नेपाली, मैथिली, बज्जिका तथा भोजपुरी संस्कृतिको मिश्रण पाइने यस क्षेत्रमा धार्मिक पर्यटन विकासको ठूलो सम्भावना रहे पनि आवश्यक पूर्वाधार विकास भने हुन सकेको छैन।
    सती बिहुला र बाला लखिन्दरको लोकगाथासँग जोडिएको यो क्षेत्र मिथिला–मधेश र भारतीय सीमावर्ती क्षेत्रमा विशेष आस्थाको केन्द्र मानिन्छ। सती बिहुलाको कथा महिला शक्ति, साहस र पतिव्रताको प्रतीकका रूपमा लोकसंस्कृतिमा स्थापित छ। यस गाथालाई नाच, नाटक, लोकगीत तथा भजनमार्फत समेत जीवन्त राखिएको छ।
    मधेश प्रदेश सरकारले समेत सती बिहुला र बाला लखिन्दरको लोकगाथासँग सम्बन्धित प्रतिकात्मक संरचनाहरू निर्माण गरेको भए पनि समग्र क्षेत्रको व्यवस्थित संरक्षण र प्रचारप्रसार अझै आवश्यक रहेको स्थानीयको भनाइ छ।

No comments:

Post a Comment