Translate

Saturday, May 16, 2026

सर्लाहीमा आँप उत्पादनमा संकट, मौसमले किसानको आशा चकनाचुर

 


मधेशदूत समाचारदाता
सर्लाही, जेठ ३

    यस वर्ष सर्लाही जिल्लाका आँप किसानहरूको उत्पादन बढ्ने आशा मौसमको प्रतिकूलतासँगै कमजोर बनेको छ । सुरुमा आँपका बोटमा प्रशस्त मञ्जरी (फूल) लागेपछि उत्पादन राम्रो हुने अनुमान गरिएको थियो । तर वैशाखको सुरुवातमै आएको तीव्र हावाहुरीले धेरै फूल झारिदिएपछि किसानहरू निराश बनेका छन् ।
    कृषि प्राविधिकहरूका अनुसार यस वर्ष जिल्लाभरका आँपका बगैंचामा विगतका वर्षभन्दा राम्रो फूल लागेको थियो । मौसम अनुकूल रहे उत्पादन उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको थियो । तर टिकोला(फल)लाग्ने चरणमै आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएपछि उत्पादन घट्ने संकेत देखिएको छ ।
एक कृषि प्राविधिकले भने, “यस वर्ष उत्पादन राम्रो हुने सम्भावना थियो । तर हावाहुरीले धेरै मञ्जरी झारिदिएपछि अपेक्षित उत्पादन हासिल हुने अवस्था देखिँदैन ।”
    किसानहरूका अनुसार आँप खेतीमा गरिएको मेहनत, मलखाद, सिँचाइ तथा रोग नियन्त्रणमा गरिएको लगानी प्राकृतिक विपत्तिका कारण जोखिममा परेको छ । बोटमा लागेको फूल झरेपछि फल लाग्ने सम्भावना निकै कम भएको उनीहरूको भनाइ छ ।
    किसानहरूले नियमित रूपमा मल, सिँचाइ र विषादी प्रयोग गरे पनि हावाहुरीजस्ता प्राकृतिक प्रकोप नियन्त्रण बाहिरको विषय भएकाले ठूलो क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् । यसले उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ ।
   कृषि प्राविधिकहरूले यस वर्ष आँपमा डढुवा रोगको जोखिम पनि देखिएको बताएका छन् । रोग नियन्त्रणका लागि पूर्वतयारी गरिएको भए पनि हावाहुरीले पहिले नै उत्पादनमा असर पुर्‍याइसकेको उनीहरूको भनाइ छ ।
कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार पछिल्ला वर्षहरूमा मौसमको अनियमितता बढ्दै गएको छ । हावाहुरी, असिना र अत्यधिक तापक्रमजस्ता प्राकृतिक घटनाले कृषि उत्पादनमा प्रत्यक्ष असर पार्दै आएको छ ।
विशेषज्ञहरूले यस्तो अवस्थामा बाली बीमा विस्तार, मौसम पूर्वानुमान सूचना प्रणालीलाई प्रभावकारी बनाउने तथा आधुनिक खेती प्रविधिको प्रयोग बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
   उत्पादन घट्ने संकेतसँगै यस वर्ष सर्लाहीमा आँपको मूल्य बजारमा बढ्ने अनुमान गरिएको छ । स्थानीय उत्पादन कम भए भारतीय आँपको आयात बढ्न सक्ने र बजारमा मूल्य महँगिने सम्भावना व्यापारीहरूले व्यक्त गरेका छन् ।


No comments:

Post a Comment