पब्लिक मा.वि. मलंगवामा विद्यार्थीको बढ्दो आकर्षण
मधेशदूत समाचारदाता
सर्लाही, जेठ २
जिल्लाको सदरमुकाम मलंगवा नगरपालिका वडा नं. २ मा रहेको श्री पब्लिक माध्यमिक विद्यालयमा शनिवार नयाँ शैक्षिक सत्र २०८३ का लागि प्रवेश परीक्षा उत्साहजनक रूपमा सम्पन्न भएको छ । सीमित सिटका बाबजुद अपेक्षाभन्दा धेरै विद्यार्थीले आवेदन दिएका कारण विद्यालयप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षण स्पष्ट देखिएको छ ।
विद्यालय प्रशासनका अनुसार कक्षा ६ देखि ९ सम्मका लागि कुल २३५ जना विद्यार्थीले आवेदन दिएका छन् । आवेदन दिने अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएको जनाइएको छ, जसले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्दै गएको संकेत गरेको विद्यालयले जनाएको छ ।
शनिवार बिहान ७ बजेदेखि सञ्चालन गरिएको प्रवेश परीक्षामा अधिकांश आवेदक विद्यार्थीहरूको सहभागिता रहेको थियो । सीमित कोटामा धेरै आवेदन परेपछि प्रतिस्पर्धा पनि उच्च देखिएको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक सुभाष कुमार यादव ले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा सुधारिएको भौतिक पूर्वाधारका कारण विद्यालयप्रति आकर्षण बढ्दै गएको बताए । उनले निष्पक्ष ढंगले प्रवेश परीक्षा सञ्चालन गरिएको र मेरिटका आधारमा भर्ना प्रक्रिया अघि बढाइने जानकारी दिए ।
हालै सम्पन्न २०८२ सालको एसइई परीक्षामा यस विद्यालयबाट ४ जना विद्यार्थीले ४ जिपिए सहित ९७.५१% विद्यार्थी उत्तीर्ण भएका थिए।
उक्त उपलब्धिले विद्यालयको शैक्षिक स्तर थप मजबुत बनेको अभिभावकहरूको भनाइ छ ।
No comments:
Post a Comment