Translate

Monday, May 18, 2026

कैदीबन्दीलाई मानवीय व्यवहार गर्न मन्त्री महतोको निर्देशन

 


मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ५

   मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो ले सोमबार सर्लाही जिल्ला अदालत र सर्लाही कारागारको निरीक्षण गर्दै सेवा प्रवाह र व्यवस्थापन अवस्थाबारे चासो व्यक्त गरेका छन्।
    निरीक्षणका क्रममा मन्त्री महतोले अदालत तथा कारागारको भौतिक पूर्वाधार, सुरक्षा प्रबन्ध, कैदीबन्दीको स्वास्थ्य अवस्था तथा प्रशासनिक कामकारबाहीबारे जानकारी लिएका थिए। उनले नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा दिन आवश्यक सुधारमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।
   कारागार निरीक्षणका क्रममा उनले कैदीबन्दीलाई कानुनले सुनिश्चित गरेको अधिकारअनुसार मानवीय व्यवहार गर्नुपर्नेमा जोड दिएका थिए। साथै आधारभूत सेवा तथा स्वास्थ्य सुविधामा कुनै कमी हुन नदिन निर्देशनसमेत दिएका छन्।
   कारागार प्रशासनले कैदीबन्दीको अत्यधिक चाप, सीमित भौतिक संरचना र व्यवस्थापनसम्बन्धी चुनौतीबारे मन्त्रीलाई जानकारी गराएको थियो।
   मन्त्री महतोले न्यायिक निकाय र कारागार सुधार प्रदेश सरकारको प्राथमिकताभित्र रहेको उल्लेख गर्दै आवश्यक समन्वय र सहयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए।

No comments:

Post a Comment