Translate

Monday, May 18, 2026

सर्लाहीमा मौरीपालन: संकटसँगै सम्भावनाको नयाँ ढोका

 मनोज यादव---
सर्लाही,जेठ ५

    सर्लाहीमा मौरीपालन व्यवसाय पछिल्ला वर्षहरूमा घट्दो किसान संख्या, चरिचरन क्षेत्रको अभाव र वन विनाशका कारण दबाबमा परेको छ । तर यही संकटको बीचमा नयाँ सम्भावना र सुधारका उपायबारे बहस पनि सुरु भएको छ ।
    परम्परागत पेसाबाट पलायनको चिन्ता
दुई दशकअघि सर्लाहीमा करिब तीन सय हाराहारी किसान मौरीपालनमा सक्रिय थिए । तर अहिले यो संख्या घटेर करिब ६८ घरपरिवारमा सीमित भएको छ । मह उत्पादनमा पनि स्पष्ट गिरावट देखिएको छ। पहिले वार्षिक चार सय टनसम्म उत्पादन हुने मह अहिले करिब एक सय टनमा झरेको छ ।
   किसानहरूका अनुसार मुख्य समस्या चरिचरन क्षेत्रको संकुचन हो । वन क्षेत्रमा सिसौ, रुदिलो जस्ता मौरीका लागि उपयुक्त वनस्पति मासिँदै जाँदा उत्पादन क्षमतामा ठूलो असर परेको छ ।
बाहिरी जिल्लामा मौरी लैजान बाध्यता
सर्लाहीका मौरीपालक किसानहरू अहिले प्युठान, चितवन, परासी र बाराजस्ता जिल्लामा मौरी चराउन लैजान बाध्य छन् । तर त्यहाँ पनि वन समूह, स्थानीय तह र निकायगत अवरोधले समस्या थपिएको किसानहरूको गुनासो छ ।
यसले मौरीपालनलाई स्थायी व्यवसायभन्दा बढी अस्थायी संघर्षको रूपमा बदलिदिएको देखिन्छ। 
       अनुभवी किसानको चेतावनी
ईश्वरपुर नगरपालिका–४, सागरनाथका अनुभवी मौरीपालक हेमराज देवकोटाजस्ता किसानले चरिचरन क्षेत्रको संरक्षण नगरे भविष्य अझ कठिन हुने चेतावनी दिएका छन् । उनका अनुसार सरकार र निजी क्षेत्रले शुद्ध मह उत्पादन प्रवर्द्धन र नक्कली मह नियन्त्रणमा ध्यान दिन सके मात्र यो व्यवसाय टिक्न सक्छ ।
अनुदानमा विवाद, नीतिगत चुनौती
कृषि ज्ञान केन्द्रका अनुसार मौरीपालनका लागि सीमित मात्रामा अनुदान विनियोजन भए पनि वितरण प्रक्रियामा विवाद देखिँदै आएको छ । किसानहरूबीच एकताको कमी र संस्थागत समन्वय अभावले वास्तविक किसानसम्म लाभ नपुग्ने अवस्था बनेको छ ।
यसले नीति प्रभावकारितामाथि प्रश्न उठाएको छ।
        संकटभित्र सम्भावना पनि
समस्याबीच पनि सर्लाहीमा मौरीपालनको सम्भावना भने अझै समाप्त भएको छैन । उपयुक्त वन व्यवस्थापन, विषादी प्रयोगमा नियन्त्रण, र वैज्ञानिक चरिचरन प्रणाली लागू गर्न सके उत्पादन पुनः बढाउन सकिने विज्ञहरूको भनाइ छ ।
यदि सरकारले दीर्घकालीन नीति बनाएर मौरीमैत्री वातावरण निर्माण गर्न सके सर्लाही फेरि देशकै प्रमुख मह उत्पादन केन्द्र बन्न सक्ने सम्भावना अझै जीवित छ ।
     सर्लाहीको मौरीपालन केवल एक व्यवसायको कथा होइन, यो ग्रामीण अर्थतन्त्र, वन संरक्षण र सरकारी नीतिको संयुक्त परीक्षण पनि हो । अहिले देखिएको गिरावटलाई अवसरमा बदल्ने हो भने किसान पलायन रोक्न र मह उत्पादन बढाउन अझै ढिलो भइसकेको छैन ।

No comments:

Post a Comment