Translate

Thursday, May 21, 2026

श्रीमती कृष्णदेवी मावि मलंगवाको शैक्षिक व्यवस्थापनप्रति अभिभावक असन्तुष्ट, सुधारको माग



मधेशदूत समाचारदाता

सर्लाही, जेठ ७

   सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रति अभिभावक तथा स्थानीयवासीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। विद्यालयमा पठनपाठन, सरसफाइ तथा प्रशासनिक व्यवस्थापन कमजोर भएको भन्दै उनीहरूले  तत्काल सुधारको माग गरेका छन् ।
   अभिभावकहरूको गुनासो अनुसार विद्यालयमा विद्यार्थीहरूलाई समयमै पाठ्यपुस्तक वितरण नहुने समस्या रहेको छ। नयाँ शैक्षिक सत्र सुरु भएको केही हप्ता बितिसक्दा पनि कतिपय विद्यार्थीले आवश्यक पुस्तक नपाएको उनीहरूको भनाइ छ।
त्यसैगरी कार्यरत केही शिक्षकहरू नियमित रूपमा कक्षाकोठामा पढाइमा केन्द्रित हुनुभन्दा विद्यालय परिसर वा फिल्डमा बसेर लामो समयसम्म कुराकानी गर्ने गरेको आरोप पनि अभिभावकहरूले लगाएका छन्। यसले विद्यार्थीहरूको पढाइ प्रभावित भएको उनीहरूको भनाइ छ।
   विद्यालयका कक्षाकोठा फोहोर तथा अव्यवस्थित अवस्थामा राखिने गरिएको भन्दै अभिभावकहरूले सरसफाइमा समेत विद्यालय प्रशासन उदासीन रहेको बताएका छन्। पटक–पटक गुनासो तथा सुझाव दिँदा पनि विद्यालय प्रशासनले कुनै चासो नदेखाएको र मनपरी ढंगले काम गरिरहेको आरोप उनीहरूको छ।
  स्थानीयवासी तथा अभिभावकहरूले सम्बन्धित निकायलाई विद्यालयको तत्काल अनुगमन गर्न, शैक्षिक वातावरण सुधार गर्न, नियमित तथा प्रभावकारी पठनपाठन सुनिश्चित गर्न र विद्यालयको सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।


No comments:

Post a Comment