दुलवाका विपन्न परिवारकी छोरीको विवाहमा हिन्दू सम्राट सेना नेपालको सहयोग
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख २५
हिन्दू सम्राट सेना नेपाल सर्लाहीले विपन्न परिवारकी छोरीको विवाहका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ। सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ७ दुलवाका सरजित रामकी छोरी सुनिता कुमारी रामको विवाहलाई लक्षित गर्दै जन्तीलाई भोजन गराउन आवश्यक पर्ने खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो।
केन्द्रीय उपाध्यक्ष कृष्ण यादवको नेतृत्वमा बिहीबार स्थानीय बासिन्दाको रोहवरमा सरजितको घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको जनाइएको छ। सुनिताको विवाह वीरगन्जमा हुने बताइएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय समाजसेवी तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो। संगठनले आर्थिक अभावका कारण विवाह गर्न कठिनाइ भोगिरहेका परिवारलाई सहयोग गर्ने उद्देश्यले मानवीय अभियान सञ्चालन गर्दै आएको जनाएको छ।
केन्द्रीय उपाध्यक्ष यादवले यसअघि पनि विभिन्न विपन्न तथा असहाय परिवारलाई यस्तै प्रकारको सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
No comments:
Post a Comment