सर्लाहीमा सशस्त्र प्रहरीको कडा निगरानी : करोडौंको अवैध सामान बरामद, प्राकृतिक विपद् जोखिम न्युनिकरण,सचेतना,मानव बेचविखन तथा अवैध आर्थिक कारोबार नियन्त्रणमा समेत निगरानी
मनोज यादव---
सर्लाही, वैशाख २५
खुला सीमाका कारण वर्षौंदेखि तस्करी, लागूऔषध ओसारपसार र विभिन्न सीमा अपराधको जोखिम झेल्दै आएको सर्लाहीमा सशस्त्र प्रहरी बलको सक्रियता पछिल्लो समय प्रभावकारी देखिन थालेको छ । चालु आर्थिक वर्षमा मात्रै सशस्त्र प्रहरीले ५ करोड ६८ लाख १५ हजार ९ सय ८ रुपैयाँ ६ पैसा बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल नम्बर १० गण सर्लाहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर खत्रीका अनुसार जिल्लाका विभिन्न सीमा नाका तथा संवेदनशील क्षेत्रमा परिचालित टोलीले भारतबाट गैरकानुनी रूपमा भित्र्याइँदै गरेका सामानहरू नियन्त्रणमा लिएको हो । बरामद सामग्रीमा कपडा, किराना, इलेक्ट्रोनिक्स लगायत दैनिक उपभोग्य वस्तुहरू रहेका छन् ।
तस्करी नियन्त्रणमा मात्रै नभई वन तथा लागूऔषध अपराध नियन्त्रणमा पनि सशस्त्र प्रहरीको सक्रियता देखिएको छ । चालु वर्षमा २४१८.२८ क्युविक फिट काठ, ३१८.८ किलो गाँजा र १४ हजार २५० मिलिलिटर प्रतिबन्धित लागू पदार्थ बरामद गरिएको छ । विभिन्न अपराधमा संलग्न ५ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
मानव बेचविखन तथा अवैध आर्थिक कारोबार नियन्त्रणमा समेत सशस्त्र प्रहरीले निगरानी बढाएको छ । मानव बेचविखनको जोखिममा रहेका ८ जनाको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ भने हुण्डी कारोबारको आशंकामा ५ लाख ४३ हजार ८ सय ९६ रुपैयाँ बरामद गरिएको छ ।
प्राकृतिक विपद्का घटनामा समेत सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी देखिएको छ । बाढी डुबानमा फसेका २३ जनाको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यस्तै सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमअन्तर्गत २ कोठे पक्की सार्वजनिक शौचालय निर्माण तथा एक स्थानमा चापाकल बोरिङ गरी सामाजिक उत्तरदायित्वका कामसमेत अघि बढाइएको छ ।
यस अवधिमा लागूऔषध दुर्व्यसन, सीमा अपराध तथा विपद् जोखिम न्यूनीकरणबारे १०९ वटा सचेतनामूलक कक्षा सञ्चालन गरिएको छ भने विपद् व्यवस्थापनसम्बन्धी ४ वटा अभ्यास पनि सम्पन्न गरिएको छ । गणमा ४ पटक रक्तदान कार्यक्रम सञ्चालन गरिएको जानकारी पनि सशस्त्र प्रहरीले दिएको छ ।
सर्लाहीमा हाल सशस्त्र प्रहरीको एउटा गण मुख्यालय, २ वटा गुल्म, ९ वटा बीओपी र ७ वटा बेस क्याम्प सञ्चालनमा छन् । खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका साथै जिल्लाभित्र हुने विभिन्न अपराधिक गतिविधि न्यूनीकरणमा सशस्त्र प्रहरीको भूमिका थप सक्रिय बन्दै गएको स्थानीयवासीको भनाइ छ ।
No comments:
Post a Comment