Translate

Tuesday, May 12, 2026

दुई दिनपछि खुल्यो बेवारिसे शवको पहिचान

  


मधेशदूत समाचारदाता----
सर्लाही, बैशाख ३०

    सर्लाहीको गोडैता नगरपालिका–६ बगदहस्थित चिनी मिल नजिक जलकुम्भी घारीमा फेला परेको बेवारिसे शवको दुई दिनपछि पहिचान खुलेको छ।
    आइतबार अपराह्न हुलाकी राजमार्ग किनारमा सडिगलेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो। प्रहरीले मंगलबार उक्त शव बलरा नगरपालिका–६ निवासी ६२ वर्षीय तेज हजारीको रहेको पुष्टि गरेको हो।
   जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईका अनुसार मृतकका छोरा शिवराज हजारी सम्पर्कमा आएपछि शवको सनाखत भएको हो। प्रहरीले सडिगलेको अवस्थामा रहेको शवलाई प्रादेशिक अस्पताल मलङ्गवामा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाएको जनाएको छ।
   प्रवक्ता राईका अनुसार हालसम्म मृत्युको यकिन कारण खुल्न सकेको छैन। परिवारले मानसिक अवस्था ठीक नरहेका तेज हजारी बैशाख २१ गतेदेखि घरबाट हराइरहेको बताएका छन्। शवसँगै फेला परेको मोबाइल फोनको आधारमा प्रहरीले पहिचान खुलाउन सफल भएको थियो।

No comments:

Post a Comment