बागमती नदीमा डुबेर दुई युवकको ज्यान गयो
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ ११
बागमती नदीमा डुबेर बेपत्ता भएका दुई युवकको शव फेला परेको छ। बागमती नदीमा घुम्न गएका पाँच जना साथीहरूमध्ये दुईजनाको शव आइतवार रौतहट र सिन्धुली जिल्लाको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनि फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार कसैलाई जानकारी नदिई घुम्न गएका पाँच जना साथीहरू बेलुका करिब ४ बजे नदी तर्ने क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तिपुर निवासी रामप्रमोद महतोका १८ वर्षीय छोरा रोहित महतो र २० वर्षीय गणेश महतो बागमती नदीमा डुबेर बेपत्ता भएका थिए।
घटनाबारे राति करिब ८ बजे प्रहरीलाई खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन तथा इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
प्रहरीका अनुसार आइतबार बिहान करिब १०ः१५ बजे रोहित महतोको शव बागमती नगरपालिका–११ स्थित बागमती पुलभन्दा करिब ४०/५० मिटर उत्तरतर्फ नदीमा उतानो परेको अवस्थामा फेला परेको थियो। त्यसैगरी दिउँसो करिब १ः३० बजे गणेश महतोको शव पनि बागमती पुलभन्दा करिब १ किलोमिटर उत्तरतर्फ नदीको ड्याम साइडको पानीमा फेला परेको प्रहरीले जनाएको छ।
आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।
उक्त घटनामा बरहथवा नगरपालिका–५ निवासी २८ वर्षीय सहमद मोमिन, २४ वर्षीय मोहम्मद अख्तर तथा ब्रह्मपुरी गाउँपालिका–३ निवासी २० वर्षीय श्याम भण्डारी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
No comments:
Post a Comment