लौकठबाट भरुवा बन्दुकसहित एकजना पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान सुरु
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १३
सर्लाहीको बरहथवा नगरपालिका–१२ स्थित लौकठ टोल क्षेत्रमा भरुवा बन्दुक बोकी हिँडडुल गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार बिहान करिब २ बजे अपरिचित व्यक्तिहरू भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बरहथवा र इलाका प्रहरी कार्यालय हिरापुरबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो।
खोजतलासका क्रममा ३/४ जनाको समूह भरुवा बन्दुक बोकी हिँडिरहेको अवस्थामा प्रहरी टोलीलाई देखेपछि भाग्ने प्रयास गरेका थिए। सो क्रममा एक जनालाई नियन्त्रणमा लिन प्रहरी सफल भएको जनाएको छ। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–२ सुकुमवासी टोल बस्ने गोपी घलानका छोरा अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट एक थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने फलामको रड एक थान, प्लास्टिकको डब्बासहित ३५ ग्राम कालो धुलो पदार्थ, स्टिलको डब्बासहित १४० ग्राम कालो धुलो पदार्थ, साइकलमा प्रयोग हुने फलामका बल ८० थान तथा फलामको रडका टुक्रा ५ थान बरामद गरेको जनाएको छ। बरामद सामग्री स्थानीय व्यक्तिहरूको रोहवरमा मुचुल्का गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका घलानविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई इलाका प्रहरी कार्यालय बरहथवाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
No comments:
Post a Comment