नेपाल–भारत सीमा क्षेत्र दशगजामा एक अज्ञात पुरुषको शव फेला
मधेशदूत समाचारदाता---
सर्लाही, जेठ १३
सर्लाहीको पर्सा गाउँपालिका–१ स्थित सितलपुर टोल नजिक नेपाल–भारत सीमा दशगजा क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मंगलबार दिउँसो करिब ३:१० बजे प्रहरी निरीक्षक बालकृष्ण फुयाँलको कमाण्डमा खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा अन्दाजी ४५ देखि ५० वर्ष उमेरका एक पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेका हुन् ।
हालसम्म मृतकको नाम, थर तथा ठेगाना खुल्न नसके पनि मृतकले हातमा लगाएको बालामा भने “जगन राउत” लेखिएको फेला परेको प्रहरीले जनाएको छ । शवको खल्तीबाट भारतीय १० रुपैयाँको नोट र २ रुपैयाँको सिक्का बरामद भएको बताइएको छ ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले मधेशदूतलाई जानकारी दिएका छन् ।
No comments:
Post a Comment