स्मार्ट प्रविधिसँगै स्वास्थ्य सेवामा नयाँ क्रान्ति : पर्सा गाउँपालिकाद्वारा स्वास्थ्यकर्मीलाई ल्यापटप वितरण
मधेशदूत समाचारदाता
सर्लाही, जेठ १३
सर्लाहीको पर्सा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिका अन्तर्गत कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई ल्यापटप तथा ब्याग वितरण गरेको छ।“स्मार्ट प्रविधि मैत्री गुणस्तरीय स्वास्थ्य सेवा, नागरिकको स्वास्थ्य सुधारमा टेवा”भन्ने नारालाई आत्मसात गर्दै उक्त सामाग्री वितरण गरिएको हो।
गाउँपालिका अध्यक्ष धीरेन्द्र यादव 'विस्पत' को अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ को विशेष उपस्थितिमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीहरूको कार्यसम्पादनलाई सहज, छिटो तथा व्यवस्थित बनाउन सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले आधुनिक प्रविधिको प्रयोगबाट स्वास्थ्य सेवा अझ प्रभावकारी र नागरिकमैत्री बन्ने विश्वास व्यक्त गरे। उनले गाउँपालिकाले स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रविधिमैत्री योजना सञ्चालन गर्ने बताए।
प्रमुख प्रशासकीय अधिकृत थिङले डिजिटल प्रणालीको प्रयोगले स्वास्थ्य सेवाको अभिलेखीकरण, रिपोर्टिङ तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उल्लेख गरे।
गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्यकर्मीहरूले प्राप्त सामग्रीले दैनिक कार्यसम्पादनमा ठूलो सहजता हुने प्रतिक्रिया दिएका थिए।
No comments:
Post a Comment