Translate

Friday, May 29, 2026

गणतन्त्र दिवसको अवसरमा सम्मान तथा वृहत् रक्तदान कार्यक्रम सम्पन्न

 


मधेशदूत समाचारदाता ---
सर्लाही,जेठ १५

   सर्लाहीको ईश्वरपुर नगरपालिकामा १८औँ संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा विविध सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सम्पन्न भएका छन्। कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई सम्मान गरिएको छ भने सामुदायिक विद्यालयका शिक्षक तथा सर्लाहीका क्रियाशील पत्रकारहरूको निःशुल्क आँखा परीक्षण पनि गरिएको छ।
  त्यसैगरी गणतन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान, ज्येष्ठ नागरिकलाई पोषिलो खाद्य सामग्री वितरण तथा “वाक ईश्वरपुर” कार्यक्रमसमेत सम्पन्न गरिएको हो।


    वि.पी. सामुदायिक पुस्तकालय को आयोजना तथा ईश्वरपुर नगरपालिका को सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम पुस्तकालयका अध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा नगर प्रमुख मनोज कुमार आचार्य को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, कविलासी नगरपालिकाकी उपप्रमुख पूनम कर्ण लगायतको सहभागिता रहेको थियो।
    कार्यक्रममा ईश्वरपुर नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई २०८२ मा उत्कृष्ट जीपीए ल्याउने २४ जना छात्र–छात्रालाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट विद्यालयलाई पनि सम्मान गरिएको पुस्तकालयका सचिव शंकर काफ्ले ले जानकारी दिनुभयो।


   शिक्षक कृष्ण प्रसाद उप्रेती ले सञ्चालन गरेको कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षक तथा सर्लाहीका पत्रकार गरी करिब २५० जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणपछि आवश्यक व्यक्तिहरूलाई औषधि तथा चस्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।
  आँखा परीक्षण तथा उपचार सेवा भरतपुर आँखा अस्पताल को सहयोगमा सञ्चालित आँखा उपचार केन्द्र ईश्वरपुरको व्यवस्थापनमा गरिएको केन्द्र प्रमुख चन्दन मणि रामले बताउनुभयो ।
  यसैबीच आयोजित वृहत् रक्तदान कार्यक्रममा स्थानीय युवा, शिक्षक, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। “रक्तदान जीवनदान” भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।कार्यक्रममा ईश्वरपुर नगरपालिका घर भई विभिन्न क्षेत्रमा सक्रिय रही संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा योगदान पुर्‍याउने १२ जना व्यक्तिलाई सम्मान गरिएको थियो। सम्मानले सामाजिक कार्यमा सक्रिय व्यक्तिहरूको योगदानको कदर हुनुका साथै थप काम गर्न प्रेरणा मिल्ने पुस्तकालय अध्यक्ष मैनालीले बताउनुभयो।
  त्यसैगरी नगरपालिकाभित्रका करिब १५० जना ज्येष्ठ नागरिकलाई सम्मानसहित पोषिलो खाद्य सामग्री वितरण गरिएको थियो। यसले ज्येष्ठ नागरिकहरूको पोषण तथा स्वास्थ्य सुधारमा सहयोग पुग्ने नगर प्रमुख मनोज कुमार आचार्यले बताउनुभयो।
  नगर प्रमुख आचार्यका अनुसार नगरवासीलाई सबै क्षेत्रमा सक्षम र स्वस्थ बनाउने उद्देश्यले स्वास्थ्य प्रवद्र्धनका कार्यक्रमलाई प्राथमिकता दिइएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र लोकतन्त्रको उपलब्धि नागरिकसम्म अनुभूति हुने गरी नगरपालिकाले काम गरिरहेको उहाँले बताउनुभयो।
  पछिल्लो समय मधुमेह, उच्च रक्तचाप तथा कोलेस्ट्रोलजस्ता रोग बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै गणतन्त्र दिवसकै अवसरमा “वाक ईश्वरपुर” अभियानसमेत सुरु गरिएको छ। “दैनिक ५ हजार पाइला हिँडौँ, स्वस्थ र दीर्घायु बनौँ” भन्ने नारासहित बयलवास बजारदेखि सखुवनीसम्म पैदल हिँड्ने कार्यक्रम आयोजना गरिएको वि.पी. सामुदायिक पुस्तकालय ले जनाएको छ।

No comments:

Post a Comment