Translate

Saturday, May 30, 2026

विश्व महिनावारी स्वच्छता दिवस विविध कार्यक्रम गरी सम्पन्न

 


मधेशदूत समाचारदाता---
सर्लाही ,जेठ १६

   सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं. २ स्थित ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको संयुक्त साझेदारी तथा हरिपुर र ईश्वरपुर नगरपालिकाको समन्वयमा सञ्चालित “समुन्नति परियोजना” अन्तर्गत विश्व महिनावारी स्वच्छता दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सम्पन्न गरिएको छ।
    “महिनावारी मैत्री समाजका लागि सहकार्य” भन्ने राष्ट्रिय नाराका साथ आयोजित कार्यक्रम हरिपुर नगरपालिका वडा नं. ०१ स्थित जानकीनगर, वडा नं. ०६ स्थित लक्ष्मीपुर तथा ईश्वरपुर नगरपालिका वडा नं. ०९ स्थित कुरिनियाटोल र वडा नं. १० स्थित बेला मुसहरी बस्तीमा सम्पन्न गरिएको हो।
   कार्यक्रममा महिनावारी स्वच्छता, सुरक्षित सरसफाइ, किशोरी स्वास्थ्य, महिनावारी सम्बन्धी भ्रम तथा विभेद न्यूनीकरण लगायत विषयमा सचेतनामूलक छलफल गरिएको थियो। सहभागी किशोरीहरूलाई महिनावारीलाई प्राकृतिक प्रक्रियाको रूपमा बुझ्न, स्वच्छता अपनाउन तथा विद्यालय तथा समुदायमा खुला रूपमा छलफल गर्न प्रेरित गरिएको आयोजकले जनाएको छ।


  उक्त कार्यक्रममा हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रबाट जम्मा १०२ जना सहभागी रहेका थिए। सहभागीमध्ये ९२ जना किशोरीहरु र ९ जना अभिभावक रहेका थिए। कार्यक्रममा स्थानीय समुदायका प्रतिनिधि, अभिभावक सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य रुपान्तरण पाठयक्रमका सहजकर्ता लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो।
   आयोजक संस्थाले महिनावारी सम्बन्धी सामाजिक विभेद अन्त्य गर्दै किशोरीमैत्री तथा महिनावारीमैत्री समाज निर्माणका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास समेत व्यक्त गरेको छ।

No comments:

Post a Comment