उखुको पैसा नपाउँदा किसान संकटमा, पढाइ र खेती दुवै प्रभावित
मधेशदूत समाचारदाता----
सर्लाही, जेठ १७
उखु बिक्री गरेको तीन महिना बितिसक्दा पनि भुक्तानी नपाउँदा सर्लाहीका सयौं किसान आर्थिक संकटमा परेका छन्।
जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग र गोडैता नगरपालिका–स्थित महालक्ष्मी चिनी उद्योगले समयमै रकम नदिँदा किसानहरूलाई घरखर्च धान्न, बालबालिकाको शिक्षा सञ्चालन गर्न तथा आगामी खेतीका लागि आवश्यक खर्च जुटाउन समस्या भएको छ। उखु बिक्रीबाट प्राप्त हुने रकमकै भरमा परिवारको दैनिक खर्च, छोराछोरीको पढाइ र खेतीपाती सञ्चालन गर्दै आएका किसानहरू अहिले ऋणको भरमा घरव्यवहार चलाउन बाध्य भएका छन्। उद्योगबाट भुक्तानी नआउँदा आर्थिक बोझ बढ्दै गएको उनीहरूको गुनासो छ।
सर्लाहीका तीन चिनी उद्योगमध्ये हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले किसानको सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको छ। तर अन्नपूर्ण र महालक्ष्मी चिनी उद्योगले अझै रकम उपलब्ध नगराउँदा किसानहरू समस्यामा परेका छन्। समयमै पैसा नपाउँदा मल, बीउ तथा अन्य कृषि सामग्री खरिद गर्न कठिनाइ भएको किसानहरूको भनाइ छ।
उखु किसान तथा गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवले किसानले उत्पादन गरेको बालीको मूल्य समयमा नपाउँदा ग्रामीण अर्थतन्त्रसमेत प्रभावित हुने बताए। उनले किसानको मेहनतको उचित मूल्य र समयमै भुक्तानी सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायले कडाइका साथ पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
यसैबीच, सर्लाहीबाट निर्वाचित सांसदहरूले पनि प्रतिनिधिसभामा उखु किसानको समस्या उठाएका छन्। उनीहरूले किसानलाई उपलब्ध गराउनुपर्ने अनुदान र उद्योगले दिनुपर्ने बक्यौता रकम तत्काल भुक्तानी गराउन सरकारसँग माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योग पक्षले जेठ मसान्तभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ। तर विगतका अनुभवका आधारमा किसानहरू भने अझै आश्वस्त हुन सकेका छैनन्।
नगदे बालीका रूपमा चिनिने उखुको भुक्तानीमा भइरहेको ढिलाइले किसानहरूलाई आर्थिक रूपमा कमजोर बनाउँदै लगेको छ। समयमै रकम प्राप्त नहुँदा किसानको दैनिक जीवनयापन मात्र होइन, आगामी उत्पादन चक्रसमेत प्रभावित हुने चिन्ता बढ्दै गएको छ।
No comments:
Post a Comment