मलंगवामा निर्माणाधीन घर दुर्घटनाः मृतक मजदुरका पीडित परिवारलाई न्याय मागको माग
मधेशदूत समाचारदाता----
सर्लाही ,जेठ १
मलंगवामा निर्माणाधीन घरको स्ल्याब भत्किँदा दुई मजदुरको मृत्यु भएपछि हिन्दू सम्राट नेपाल सर्लाही जिल्ला कार्य समितिले दोषीमाथि कारबाही, उचित क्षतिपूर्ति तथा निष्पक्ष छानबिनको माग गर्दै बिहीबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार साँझ मलंगवा नगरपालिका वडा न–१० निवासी रंजित यादवको निर्माणाधीन चार तले घरमा खानेपानी ट्याङ्की राख्न बनाइएको स्ल्याबमा इँटा थप्ने क्रममा स्ल्याब अचानक भत्किँदा मलंगवा–२ निवासी ५० वर्षीय छटु साह र ४० वर्षीय राज किशोर यादवको घटनास्थलमै मृत्यु भएको थियो।
हिन्दू सम्राट नेपालले उक्त घटना सामान्य दुर्घटना नभई घरधनी र ठेकेदारको लापरवाहीको परिणाम भएको दाबी गरेको छ। संगठनका अनुसार मृतक दुवै जना आफ्ना परिवारका मुख्य कमाउने सदस्य भएकाले उनीहरूको निधनले परिवारको बिचल्ली भएको छ।
ज्ञापनपत्रमा मृतक परिवारलाई घरधनी र ठेकेदारबाट तत्काल उचित तथा सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको छ। साथै निर्माण कार्यमा आवश्यक सुरक्षा मापदण्ड नअपनाएको भन्दै सम्बन्धित घरधनी र ठेकेदारमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न आग्रह गरिएको छ।
त्यसैगरी जिल्लाभर सञ्चालन भइरहेका निर्माण कार्यमा मजदुर सुरक्षाका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्न प्रशासनसँग माग गरिएको छ। मृतक मजदुरका सन्तानहरूको शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग पनि संगठनले अघि सारेको छ।
हिन्दू सम्राट नेपालले पीडित परिवारले शीघ्र न्याय र क्षतिपूर्ति नपाए सशक्त आन्दोलन तथा सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ।
उक्त ज्ञापनपत्र हिन्दू सम्राट नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा यादवले प्रमुख जिल्ला अधिकारी रामुराज कडरियालाई बुझाएका हुन्।
No comments:
Post a Comment