चन्द्रनगरमा शिक्षा सुधार अभियान : विद्यालय भर्नादेखि सेवा सुविधा रोक्नेसम्म छलफल
मधेशदूत समाचारदाता---
सर्लाही,जेठ १
चन्द्रनगर गाउँपालिकाको शिक्षा शाखाको संयोजकत्वमा पालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको उपस्थितिमा बिहीबार बैठक सम्पन्न भएको छ।
बैठकमा विद्यालय भर्ना अभियानसँगै सञ्चालन गरिएको बालबालिका सर्वेक्षणको प्रतिवेदन आगामी २०८३ जेठ ५ गते मंगलबारभित्र अनिवार्य रूपमा पेश गर्ने निर्णय गरिएको छ। साथै, चन्द्रनगर गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरिएको शिक्षा शाखाले जनाएको छ।
पालिकाको सभाहलमा सम्पन्न बैठकमा सरकारी विद्यालयप्रति आकर्षण बढाउने विषयमा समेत गम्भीर छलफल भएको थियो। आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अध्ययन नगराउने सरकारी कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक तथा जनप्रतिनिधिहरूको तलब–भत्ता तथा अन्य सेवा–सुविधा रोक्ने विषयमा समेत छलफल गरिएको प्राधानाध्यापक सरोज कुमार सिंहले जानकारी दिए।
बैठकमा गाउँपालिका अध्यक्ष राज कुमार महतो, प्रमुख प्रशासकीय अधिकृत जय किशोर साह, शिक्षा शाखा प्रमुख कमला कुमारी बस्नेत, सरोज कुमार सिंह, मिश्रीलाल राय, राम दिनेश महतो, विजय कुमार ठाकुर लगायत विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो।
बैठक चन्द्रनगर गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।
No comments:
Post a Comment