सीमा अपराध नियन्त्रणबारे नेपाल–भारत अधिकारीबीच छलफल
मधेशदूत समाचारदाता----
सर्लाही,जेठ ११
सर्लाही, महोत्तरी र रौतहट जिल्लाका पदाधिकारी तथा भारतको विहार राज्य अन्तर्गत पर्ने सितामढी जिल्लाका सम्बद्ध अधिकारीहरुबीच नेपाल–भारत सीमा संयुक्त समन्वय समिति (Border District Coordination Committee - BDCC) को नियमित बैठक शनिबार भारतको सितामढीमा सम्पन्न भएको छ।
बैठकमा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्व रहेको थियो। नेपाल–भारत सीमा क्षेत्रमा देखिएका विभिन्न सुरक्षा चुनौती, सीमा अपराध नियन्त्रण तथा द्विपक्षीय समन्वयलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ।
बैठकमा विशेषगरी भारततर्फ हुने मदिरा तस्करी नियन्त्रण तथा नेपालतर्फ हुने लागूऔषध ओसारपसार रोकथामका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, विपद् व्यवस्थापनमा आपसी सहकार्य, सूचना आदान–प्रदान तथा आवश्यक समन्वय र सहजीकरणका विषयमा समेत दुवै देशका अधिकारीहरुबीच सहमति भएको बताइएको छ। दुवै पक्षका अधिकारीहरुले सीमा क्षेत्रलाई सुरक्षित, व्यवस्थित र अपराधमुक्त बनाउन नियमित समन्वय तथा संयुक्त पहललाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियासहित नेपाल र भारतका सुरक्षा निकाय, प्रशासनिक कार्यालय तथा सम्बन्धित निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
No comments:
Post a Comment