Translate

Sunday, May 24, 2026

यसवर्षको स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार पत्रकार श्रवण थापालाई प्रदान



 मनोज यादव----
सर्लाही, जेठ ११

    नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १२औँ साधारण सभाको अवसरमा पत्रकार श्रवण थापालाई “स्वर्गीय गजेन्द्र नारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार–२०८३” बाट सम्मान गरिएको छ।
   सर्लाही सदरमुकाम मलंगवास्थित मलंगवा पार्टी प्यालेसमा शनिबार आयोजित कार्यक्रममा थापालाई पत्रकारितामार्फत समाजका आवाजविहीन समुदायका मुद्दालाई निरन्तर उठान गर्दै सत्य, निष्पक्ष तथा जनपक्षीय पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो।
   बागमती  नगरपालिकाबाट प्रसारण हुँदै आएको रेडियो दर्शनका सञ्चालकसमेत रहेका थापा विगत एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले जिल्लाका सामाजिक, राजनीतिक, शैक्षिक तथा नागरिक सरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। विशेषगरी ग्रामीण भेगका नागरिकका समस्या, विपन्न समुदायका आवाज तथा जनचासोका विषयलाई सञ्चार माध्यममार्फत निरन्तर सार्वजनिक गर्दै आएको भन्दै कार्यक्रममा सहभागी वक्ताहरूले उनको प्रशंसा गरेका थिए।
पुरस्कार ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार थापाले उक्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रतिबद्ध भएर पत्रकारितामा लाग्न प्रेरणा दिएको बताए। उनले भने, “नेपाल पत्रकार महासंघ सर्लाही शाखाको १२औँ साधारण सभाको अवसरमा मलाई प्रदान गरिएको यो पुरस्कारले थप जिम्मेवार र प्रतिबद्ध भएर पत्रकारितामा लाग्न प्रेरणा दिएको अनुभूति गरेको छु।”
थापाले उक्त सम्मानका लागि नेपाल पत्रकार महासंघ सर्लाही शाखाप्रति हार्दिक आभार व्यक्त गर्दै आफ्नो पत्रकारिता यात्रामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, प्रेरणा र विश्वास गर्ने अग्रज, सहकर्मी, परिवार, शुभेच्छुक तथा पाठक/दर्शकप्रति विशेष धन्यवादसमेत व्यक्त गरे।
  उनले स्वर्गीय गजेन्द्र नारायण सिंहको नामसँग जोडिएको सम्मान आफ्नो लागि गौरवको विषय भएको उल्लेख गर्दै यस पुरस्कारले सत्य, निष्पक्ष र जनपक्षीय पत्रकारिताप्रति अझ इमान्दार भएर अघि बढ्ने ऊर्जा दिएको बताए।
“आगामी दिनमा पनि समाजका आवाज, जनताको सरोकार र सत्य तथ्यलाई प्राथमिकतामा राखेर जिम्मेवार पत्रकारिता गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने, “मलाई यस पुरस्कारको योग्य ठान्नुहुने सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गर्दछु।”
   यसअघि गोरखापत्र दैनिकका सर्लाही संवाददाता जनार्दन खत्री तथा मधेशदूत राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक मनोज यादवलाई समेत उक्त पुरस्कार प्रदान गरिसकिएको छ। उक्त पुरस्कारमा कदरपत्रसहित नगद रु १५ हजार ५ सय ५५ प्रदान गरिँदै आएको छ।
   नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरका अनुसार यो पुरस्कार पत्रकार राजेश अहिराजले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिँदै आएको हो।


No comments:

Post a Comment