मनुष्मारा नदी संकटमा: अतिक्रमण र प्रदूषणले ऐतिहासिक सम्पदा जोखिममा
मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २४
सर्लाही जिल्लाका बरहथवा, बसबरिया, धनकौल, रामनगर र बलरा क्षेत्र हुँदै बग्ने ऐतिहासिक मनुष्मारा नदी यतिबेला गम्भीर संकटमा परेको छ। नदी क्षेत्रमा बढ्दो अतिक्रमण, प्रदूषण तथा जथाभावी ढंगले बोल्डर जाली (ग्याबियन) राख्ने अनाधिकृत कार्यका कारण यसको अस्तित्व नै जोखिममा परेको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार नदी किनार अतिक्रमण गरी संरचना निर्माण, फोहोर फाल्ने प्रवृत्ति तथा बिना अध्ययन नदीमा ढुंगा–गिट्टी राख्ने काम तीव्र रूपमा बढेको छ। यसले नदीको प्राकृतिक बहाव अवरुद्ध हुनुका साथै बाढी तथा डुबानको जोखिमसमेत बढाएको छ।
यस्ता गतिविधि भइरहँदा सम्बन्धित निकाय भने मौन देखिएको भन्दै सर्वसाधारणले असन्तुष्टि जनाएका छन्। “नदी जोगाउने कुनै स्पष्ट योजना देखिएको छैन, बजेट कहाँ खर्च भयो भन्ने समेत पारदर्शी छैन,” एक स्थानीयले गुनासो गरे।
स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले तत्काल ठोस योजना सार्वजनिक गर्न, अतिक्रमण हटाउन तथा नदी संरक्षणका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्। उनीहरूले चेतावनी दिँदै भनेका छन् -यदि समयमै पहल नभए जनस्तरबाट सशक्त आन्दोलन सुरु गरिनेछ।
मनुष्मारा नदी केवल पानीको स्रोत मात्र नभई यस क्षेत्रको ऐतिहासिक तथा प्राकृतिक सम्पदा पनि हो। यसको संरक्षणमा ढिलाइ गरिए भविष्यमा ठूलो पर्यावरणीय संकट निम्तिन सक्ने विज्ञहरू बताउँछन्।
No comments:
Post a Comment