समुदाय–प्रहरी साझेदारीअन्तर्गत सर्लाहीमा सचेतनामूलक कार्यक्रम सम्पन्न
मधेशदूत समाचारदाता---
सर्लाही,बैशाख २४
समुदाय र प्रहरीबीच सहकार्य सुदृढ गर्दै सामाजिक समस्या न्यूनीकरण गर्ने उद्देश्यले सर्लाहीका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन्।
सोही अनुसार बुधबार “समुदाय–प्रहरी साझेदारी” कार्यक्रमअन्तर्गत ईलाका प्रहरी कार्यालय हरिवन र मुर्तियाले संयुक्त रूपमा साइबर अपराध नियन्त्रण तथा रोकथाम सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, भद्रभलादमी, बुद्धिजीवी, समाजसेवी तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूलाई पछिल्लो समय बढ्दो साइबर अपराधका जोखिम, त्यसबाट जोगिने उपाय तथा सचेत रहने विषयमा जानकारी गराइएको थियो।
यसअघि,मंगलबार पनि सोही कार्यक्रमअन्तर्गत अन्य स्थानमा विभिन्न विषयमा सचेतना कार्यक्रम सम्पन्न भएका थिए। ईलाका प्रहरी कार्यालय फेन्हाराले लागूऔषध नियन्त्रण तथा रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो भने ईलाका प्रहरी कार्यालय कौडेनाले सामाजिक सद्भाव कायम राख्ने विषयमा जनचेतना फैलाएको थियो।
कार्यक्रमहरूमा प्रहरीले समुदायसँग प्रत्यक्ष संवाद गर्दै अपराध न्यूनीकरणमा सबैको साझा भूमिका रहने कुरा औंल्याएको थियो।
यस्ता कार्यक्रमले स्थानीय तहमा सुरक्षा सचेतना अभिवृद्धि हुनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
No comments:
Post a Comment