Translate

Wednesday, May 6, 2026

मलंगवा नगरपालिकाद्वारा विद्यालय अनुगमनमा कडाइ, अनुमति बिना सञ्चालन हुने विद्यालय विरुद्ध कडा कारबाही

 


मनोज यादव----
सर्लाही,बैशाख २४

    जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका विद्यालयहरूको व्यवस्थापन तथा अनुगमनलाई कडाइ गर्ने निर्णय गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै अनुमति नलिई सञ्चालन भइरहेका विद्यालयहरू विरुद्ध कडा कारबाही गरिने स्पष्ट पारेको हो।
  शिक्षा शाखा प्रमुख प्रमोद मण्डलका अनुसार केही निजी तथा संस्थागत विद्यालयहरूले सम्बन्धित निकायबाट स्वीकृति नलिई विद्यार्थी भर्ना गर्ने, कक्षा सञ्चालन गर्ने तथा परीक्षा सञ्चालन गर्ने गरेको गुनासो प्राप्त भएपछि यस्तो कदम चालिएको हो।
    नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार अबदेखि सम्बन्धित निकायबाट अनुमति प्राप्त विद्यालयहरूको विवरण मात्र आधिकारिक रूपमा मान्य हुनेछ। साथै, विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा अनिवार्य रूपमा EMIS (Education Management Information System) कोड उपलब्ध गराउनुपर्नेछ। अन्य अनधिकृत माध्यमबाट जारी गरिएका प्रमाणपत्र मान्य नहुने नगरपालिकाले जनाएको छ।
   नगरपालिकाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउँदा विद्यालयको वैधानिकता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। अनुमति बिना सञ्चालन भइरहेका विद्यालयमा भर्ना गरिएमा त्यसबाट उत्पन्न हुने शैक्षिक तथा कानुनी समस्या प्रति अभिभावक र विद्यालय स्वयं जिम्मेवार हुने चेतावनी पनि दिइएको छ।
   यस्तै, अनुमति प्राप्त नगरी विद्यार्थी भर्नाका लागि विज्ञापन गर्ने विद्यालयलाई कानुनअनुसार कारबाही गरिने तथा अनुमति भन्दा माथिल्लो कक्षा सञ्चालन गरेको पाइएमा त्यस्ता विद्यालय बन्दसम्म गरिने जनाइएको छ।
   नगरपालिकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नियमन प्रक्रिया अघि बढाइएको जनाएको छ। साथै, वैशाख महिनाभित्र अनुमति प्राप्त विद्यालयहरूको नाम, ठेगाना र सञ्चालन हुने कक्षासम्बन्धी विवरण सार्वजनिक गरिने जानकारी दिइएको छ।
    नगरपालिकाको यस कदमले शिक्षा क्षेत्रमा अनुशासन कायम गर्ने तथा अभिभावक र विद्यार्थीलाई ठगीबाट जोगाउने अपेक्षा गरिएको छ।

No comments:

Post a Comment