अपराध नियन्त्रणमा सर्लाही प्रहरी सक्रिय एक महिनामै १३४ अपराध दर्ता, २३३ फरार प्रतिवादी पक्राउ, डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद
एक महिनामै १३४ अपराध दर्ता, २३३ फरार प्रतिवादी पक्राउ, डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद
मनोज यादव
सर्लाही, जेठ ५ ---
जिल्ला प्रहरी कार्यालय सर्लाहीले वैशाख महिनाभर जिल्लामा सञ्चालन भएका सुरक्षा गतिविधि, अपराध अनुसन्धान तथा नियन्त्रणसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार एक महिनाको अवधिमा जिल्लाभर १३४ वटा विभिन्न प्रकृतिका अपराध दर्ता भएका छन् भने २३३ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
प्रहरीका अनुसार ज्यान सम्बन्धी २, आत्महत्या १७, चोरी सम्बन्धी ६, सामाजिक अपराध ३८, सवारी ज्यान ६, महिला तथा बालबालिका सम्बन्धी ९ तथा अन्य ५६ गरी कुल १३४ मुद्दा दर्ता भएका छन्।
त्यस्तै जघन्य तथा गम्भीर अपराधअन्तर्गत कर्तव्य ज्यानतर्फ २ वटा तथा आर्थिक अपराधअन्तर्गत बैंकिङ कसूर २८ र ठगी सम्बन्धी ४ गरी ३४ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। सार्वजनिक चासोका १० वटा मुद्दाको सफल अनुसन्धान सम्पन्न गरिएको उल्लेख गरिएको छ।
फैसला कार्यान्वयन अभियानअन्तर्गत २३३ जना फरार प्रतिवादी पक्राउ गरी ११ वर्ष ६ महिना कैद सजाय तथा जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३६ वटा उजुरी दर्ता भएकोमा घरेलु हिंसाका २२ उजुरीमध्ये १० वटा मिलापत्र गरिएको छ। हराएका विभिन्न उमेर समूहका ११ जना व्यक्तिलाई फेला पारिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत सीमावर्ती क्षेत्रमा ‘ड्रग टेस्ट किट’ प्रयोग गरी २२ जनाको परीक्षण गर्दा ३ जनामा पोजेटिभ रिपोर्ट आएको प्रहरीले जनाएको छ। उनीहरूको अभिलेख राखी अभिभावकको जिम्मा लगाइएको बताइएको छ।
अवैध भन्सार छली नियन्त्रणका क्रममा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। यस्तै अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत विभिन्न स्थानका अवैध भट्टी नष्ट गर्नुका साथै बरामद ९० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वैशाख महिनामा जिल्लाभर ९७ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु तथा १४४ जना घाइते भएका छन्। ट्राफिक कारबाहीतर्फ १ हजार ४०५ सवारी साधनलाई कारबाही गरी १५ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ।
विपद् व्यवस्थापनतर्फ आगलागी, हावाहुरी, चट्याङ, करेन्ट लाग्ने तथा डुबानलगायत ३१ घटनामा प्रहरी परिचालन गरिएको थियो। ती घटनामा ९ जनाको मृत्यु हुनुका साथै ८७ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ।
प्रहरीले लागूऔषध दुव्र्यसन न्यूनीकरण, आत्महत्या रोकथाम, साइबर अपराध नियन्त्रण, ट्राफिक सचेतना तथा दाइजो प्रथाविरुद्ध समुदाय तथा विद्यालय केन्द्रित विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सरोज राई ले अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा समुदाय–प्रहरी सहकार्यलाई थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन।
No comments:
Post a Comment