लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३ सरोकारवालासँग अन्तर्क्रिया
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख २३
मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागु औषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” अन्तर्गत सर्लाहीमा जिल्ला स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।
अभियानको पहिलो चरणअन्तर्गत तयारी अवस्थालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीको सभाहलमा समन्वयात्मक बैठक आयोजना गरिएको हो। कार्यक्रम प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा जिल्लाभरीका स्थानीय तहका प्रमुख तथा अध्यक्षहरू, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, संघ–संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लागुऔषध दुर्व्यसनको बढ्दो समस्यालाई नियन्त्रण गर्दै सेवनकर्ताको पहिचान, सुधार तथा पुनर्स्थापनाका लागि आवश्यक रणनीति र सहकार्यबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय स्तरबाटै सचेतना अभिवृद्धि, निगरानी तथा समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
प्रहरी प्रशासनले अभियानलाई सफल बनाउन सबै सरोकारवाला पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै आगामी चरणहरूमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरिने जनाएको छ।
यस अभियानले जिल्लामा लागुऔषध नियन्त्रण तथा सामाजिक सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
No comments:
Post a Comment