मलंगवा–५ का डा. बीर वंश बैठा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित
मधेशदूत समाचारदाता---
सर्लाही, वैशाख २२
सर्लाहीको मलंगवा नगरपालिका–५ निवासी शिक्षाविद् डा. बीर वंश बैठा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित भएका छन्।
प्रोजेक्ट १०० नामक अन्तर्राष्ट्रिय संस्थाद्वारा सन् २०२६ मे २ मा आयोजित संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (SDGs) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा उहाँलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो।
उक्त सम्मेलनमा केन्या, भारत, बङ्गलादेश र नेपालसहित विभिन्न देशका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा डा. बैठाले मधेस प्रदेशमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न देखिएका चुनौतीहरू, तिनका कारणहरू तथा समाधानका सम्भावित उपायहरूबारे महत्वपूर्ण प्रस्तुति दिएका थिए।
डा. बैठा यसअघि पनि स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म विभिन्न सम्मान प्राप्त गरिसक्नुभएको व्यक्तित्व हुनुहुन्छ। उहाँलाई एशिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको उपाधिसहित दुबईमा “हेडमास्टर अफ द इयर”, “द नेताजी सुभाषचन्द्र बोस ग्लोबल आइकन अवार्ड”, “सार्क ब्रिलियन्ट अवार्ड”, “एशियन आइकन अवार्ड” तथा “बागमती प्रदेश दीप” जस्ता प्रतिष्ठित पुरस्कारहरू प्रदान गरिसकिएको छ।
उहाँले मधेस प्रदेश तथा समग्र देशका प्रमुख शैक्षिक र सामाजिक मुद्दाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आउनुभएको छ। गुणस्तरीय शिक्षा प्रवर्द्धनमा उहाँको योगदानलाई शिक्षा क्षेत्रमा उल्लेखनीय उपलब्धिको रूपमा लिइएको छ।
No comments:
Post a Comment