Translate

Sunday, May 3, 2026

बन्जारा समुदाय: जहाँ पुग्यो त्यहीँ घर , बन्जाराको घुमन्ते संस्कृति

 फिचर समाचार

मनोज यादव----
सर्लाही, बैशाख २०

   आधुनिकता, प्रविधि र शहरीकरणको तीव्र विस्तार भइरहेका बेला पनि समाजका केही समुदायहरू यस्ता छन्, जसले परम्परागत जीवनशैलीलाई अझै पनि अँगालेर राखेका छन्। त्यस्तै एक समुदाय हो बन्जारा (करोडवा) समुदाय। खुला आकाशलाई छाना र जमिनलाई ओछ्यान बनाएर बाँच्ने उनीहरूको जीवनशैली आज पनि यथावत् छ, जसले उनीहरूको पहिचानलाई झल्काउँछ।
    तराईका विभिन्न ग्रामीण भेगहरूमा छरिएर बसोबास गर्ने बन्जारा समुदाय प्रायः रुखहरूले घेरिएका फुलबारी वा बगैंचामा अस्थायी बास बस्ने गर्छन्। उनीहरूको जीवन कुनै स्थायी घर वा ठेगानामा सीमित छैन। बरु, घुमन्ते जीवनशैली नै उनीहरूको संस्कृति, परम्परा र स्वतन्त्रताको प्रतीक बनेको छ।
“हामीलाई कुनै चारकिल्लाभित्रको जीवन चाहिँदैन, हाम्रो जीवन स्वतन्त्र छ,” एक बन्जारा वृद्धले भने, “हिँडिरहनु नै हाम्रो पुर्ख्यौली चिनारी हो।”
   बन्जारा समुदायसँग प्रायः सरकारी कागजातमा स्थायी ठेगाना हुँदैन। न त उनीहरू भौतिक सुख–सुविधाको खोजीमा हुन्छन्। दैनिक गुजारा चलाउन उनीहरू विभिन्न साना–साना काममा संलग्न हुने गर्छन्।
पुरुषहरू प्रायः सिकार खेल्ने, जङ्गलबाट आवश्यक सामग्री ल्याउने वा श्रममा आधारित काम गर्ने गर्छन्। महिलाहरू भने हस्तकलाका साना–सुन्दर सामग्रीहरू तयार पारेर बिक्री गर्ने, जडीबुटी सङ्कलन गरी बजारमा बेच्ने, साथै घरायसी उपभोगका सानातिना सामग्रीहरू फेरि–फेरि बेच्ने गर्छन्। यही नै उनीहरूको आम्दानीको मुख्य स्रोत हो।
तर, उनीहरूको आम्दानी अनिश्चित हुन्छ। दिनभरि गरेको मेहेनतबाट कमाएको थोरै रकमले मात्र उनीहरूको जीवन धानिन्छ। आजको छाक टार्न सक्नु नै उनीहरूका लागि ठूलो उपलब्धि मानिन्छ।
    बन्जाराहरूको जीवनमा स्थायित्वभन्दा गतिशीलता बढी महत्त्वपूर्ण हुन्छ। जहाँ पुग्छन्, त्यहीँ घर बनाउँछन् र जसलाई भेट्छन्, उसैलाई आफन्त ठान्छन्। लामो समयसम्म एउटै स्थानमा बस्न नसक्ने उनीहरूको स्वभावले उनीहरूलाई सधैं नयाँ गन्तव्यतर्फ डोर्याइरहन्छ।
    तर, बदलिँदो समयसँगै बन्जारा समुदायका चुनौतीहरू पनि बढ्दै गएका छन्। शिक्षा, स्वास्थ्य सेवा, नागरिकता लगायत आधारभूत अधिकारहरूबाट उनीहरू अझै पनि टाढा छन्। घुमन्ते जीवनशैलीकै कारण राज्यका सेवासुविधामा पहुँच पुग्न सकेको छैन।
यस अवस्थामा, बन्जारा समुदायको पहिचान र अधिकारको संरक्षणसँगै उनीहरूको जीवनस्तर उकास्न राज्य तथा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ। उनीहरूको मौलिक संस्कृति जोगाउँदै आधारभूत सेवा उपलब्ध गराउनेतर्फ पहल हुनु जरुरी छ।
   बन्जारा समुदायको जीवनशैलीले स्वतन्त्रताको एउटा फरक अर्थ प्रस्तुत गर्छ।जहाँ कुनै बन्धन छैन, तर संघर्ष भने निरन्तर छ। उनीहरूको कथा केवल घुमन्ते जीवनको मात्र होइन, अस्तित्व र पहिचानको संघर्षको पनि कथा हो।

No comments:

Post a Comment